खाडी राष्ट्रहरूको दवावमा भारत, भारतीय समानमा प्रतिबन्ध

खाडी राष्ट्रहरूको दवावमा भारत, भारतीय समानमा प्रतिबन्ध

काठमाडौं। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता नुपुर शर्मा र नवीन जिन्दलको विवादित बयानपछि खाडी राष्ट्रहरूले भारतमा निर्मित सामानलाई आफ्नो देशको सुपर मार्केटमा विक्रीवितरणका लागि प्रतिबन्ध लगाएको छ।

भाजपा नेता शर्मा र जिन्दलले मुस्लिमहरूको भगवान पैगम्बर मोहम्मदको विषयमा आपत्तिजनक बयान दिएका थिए। कतार, कुवेत र इरान जस्ता देशले आफ्नो देशमा भएका भारतीय राजदूतलाई बोलाएर कडा विरोध जनाएका छन्। साउदी अरबले आपत्ति जनाएको छ।

५७ राष्ट्र सम्मिलित इस्लामिक सहयोग संगठन (ओआइसी) ले यसको कडा शब्दमा निन्दा गरेको छ। ओआइसीले सोसल मिडियामा आफ्नो सन्देश पोष्ट गर्दै भनेको छ–भारतमा विगत केही दिनयता मुसलमानविरुद्ध हिंसाको संख्यामा वृद्धि भएको छ।

केही राज्यको शैक्षिक संस्थानमा हिजाबलाई मात्र होइन, मुस्लिम विधार्थीलाई नै प्रतिबन्ध लगाउने काम भएको छ।

इस्लामिक देश माल्दिभ्सको संसदमा यही कुरालाई लिएर हंगामा भएको छ। विपक्षले सरकारको मौनतालाई लिएर प्रश्न उठाएका छन्। विपक्षी दलको भनाई अनुसार यो मुद्धामा सरकार चुप लागेर बस्नु भनेको निराशाजनक कुरा हो। माल्दिभ्स सरकार भने भारतविरूद्ध कुनै प्रतिक्रिया दिनबाट जोगिदै आएको छ।

भारतको विदेश मन्त्रालयले ओआइसीको बयानलाई लिएर आपत्ति जनाएको छ। विदेश मन्त्रालयले भनेको छ, ‘भारत ओआइसी सचिवालयको अनावश्यक तथा सानो सोच भएको टिप्पणीलाई खारेज गर्छ। भारत सरकार सबै धर्मलाई सम्मान गर्छ।’

भाजपाले पैगम्बर मोहम्मदको विषयमा विवादित बयान दिने प्रवत्ता शर्मालाई ६ वर्षका लागि पार्टीबाट निलम्बित गरेको छ।

लगत्तै सरकारले शर्माको बयान भारत सरकारको आधिकारीक धारणा नभएको स्पष्ट पारेको थियो। भाजपा र सरकारको यस कार्यको साउदी अरब र बहराइनले स्वागत गरेका छन्।

भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले भनेका छन्, ‘भाजपा सबै धर्मको सम्मान गर्ने पार्टी हो।’ नुपुर शर्माले २७ मेमा पैगम्बर मोहम्मदको विषयमा आपत्तिजनक बयान दिएकी थिइन।

खाडी मुलुकमा हाल ७६ लाख भारतीय वैदेशिक रोजगारीमा सक्रिय छन्। भारतले आवश्यक तेलको ठूलो मात्रा खाडी मुलुकबाट खरिद गर्ने गर्छ। कोरोना महामारीले भारतको अर्थव्यवस्था कमजोर भएको बेला यस्ता विवादित बयानले देशलाई घाटा पर्ने अर्थशास्त्रीहरूको भनाई छ।

खाडी सहयोग परिषद् (जीसीसी), जसमा कुवेत, कतार, साउदी अरब, बहराइन, ओमन र युएई समावेश छन्, यी देशसँग भारतले सन् २०२०–२१ को आर्थिक वर्षमा ९० अर्ब डलरको व्यापार गरेको थियो। यस बाहेक भारतको विदेशी मुद्रा भण्डारनको ठूलो भाग खाडी मुलुकबाटै प्राप्त हुन्छ।