तोकिएको समयभित्रै साउदी नफर्किनेलाई ३ वर्षसम्म प्रवेश प्रतिवन्ध
रियाद। विदामा गइ तोकिएको अवधिभित्रै साउदी नफर्किने नेपालीलगायतका विदेशी नागरिक ३ वर्षसम्म साउदी प्रवेश गर्न नपाउने भएका छन्।
साउदी अरबको राहदानी महानिर्देशनालय (जवाजात) ले यहाँबाट पुन : प्रवेश भिसा (रि–इन्ट्री भिसा) लिएर गएका तर, निश्चित अवधिभित्रै नफर्केका आप्रवासीलाई ३ वर्षसम्म देश प्रवेशमा प्रतिबन्ध लगाउने जनाएको छ।
महानिर्देशनालयका अनुसार भिसामा तोकिएको अवधिभित्र नफर्किएको खण्डमा रोजगारदाताले नयाँ भिसा जारी गर्नुपर्नेछ।
आप्रवासीको हकमा साउदीबाट बाहिर जाने (एक्जिट हुने) र पुन : प्रवेश गर्ने भनेर भिसा जारी गरेको तर, त्यसो नगरेको पाइएमा भिसाको म्याद समाप्त भएको दुई महिनापछि स्वचालित रूपमा त्यस्तो रेकर्ड अभिलेखीकरण गरिने महानिर्देशनालयले जनाएको छ।
यस्तै साउदी छाडेर गएका तर, नफर्केका आप्रवासीलाई दर्ता गर्न रोजगारदाता पहिलेको जस्तो राहदानी विभागमा जानु नपर्ने महानिर्देशनालयले जनाएको छ।
प्रवेशमा लगाइने प्रतिबन्धको अवधि भिसा समाप्त भएको मितिबाट गणना गरिने, र सो मिति हिजरी क्यालेन्डरमा आधारित हुनेछ।