एनआरएनए अमेरिका विवाद टुंगियो : कसरी मिल्यो कुरा ?

एनआरएनए अमेरिका विवाद टुंगियो : कसरी मिल्यो कुरा ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाभित्र चर्किएको विवाद आन्तरिक सहमतिमा टुंगिएको छ।

निर्वाचित अध्यक्ष बुद्धिसागार सुवेदी र तदर्थ समितिका अध्यक्ष कृष्ण लामिछानेबीच आन्तरिक विवाद टुंग्याउने समझदारी भएको संघका केन्द्रीय महासचिव गौरीराज जोशीले बताए।

‘एक जुट भएर जाँदामात्र एनआरएनएको अभियान प्रभावकारी हुन्छ भन्ने हाम्रो जोड हो। अमेरिकाको विवाद पनि आइसीसीको विधानभित्र रहेर सहमति र सहकार्यमै समाधान हुनुपर्छ भनेर हामीले निरन्तर प्रयास गरेका थियौं,’ जोशीले भने, ‘यसमा दुवै पक्ष लचिलो भएर सहमतिमै विवाद टुंग्याउने समझदारी गर्नुभयो। यसलाई हामीलाई निकै सकारात्मक लिएका छौं।’

सदस्यता वितरण प्रक्रिया तत्काल स्थगित गरी आउँदो साधारण सभापछि मात्रै सुरु गर्ने, केन्द्रीय एमआईएस प्रणालीमार्फत सदस्यता वितरण गर्ने, आगामी साधरण सभाबाट विधान संशोधन गर्ने, सदस्यता शुद्धिकरण गर्ने, समितिहरु आवश्यक अनुसार समायोजन वा पुनर्गठन गर्ने, सहमतिको आधारमा एकता अधिवेशन गर्नेलगायतका विषयमा दुवैपक्षबीच समझादारी जुटेको हो।

बुद्धिसागर सुवेदी नेतृत्वको निर्वाचित कार्यसमितिलाई सदस्यता शुल्क केन्द्रमा नपठाएको, आइसीसीको निर्देशन विपरित गतिविधि गरेको आरोपमा आइसीसीको तर्फबाट अमेरिकाज क्षेत्रीय समितिका संयोजक प्रकाश सापकोटा, उप–संयोजक अभिमन्यु बस्नेत, पशुपति पाण्डे र पुरुषोत्तम बोहराले २४ अप्रिलमा विघटन गरेका थिए।

सुवेदीको कार्यसमितिलाई विघटन गरेर कृष्ण लामिछानेको नेतृत्वमा तदर्थ समिति बनाइएको थियो। त्यसयता अमेरिका एनसीसीको विवाद चरम उत्कर्षमा पुगेको थियो।

समझदारी भएसँगै आउँदो ३ र ४ जुलाइमा लामिछाने पक्षले टेक्सासमा आयोजना गरेको अधिवेशन नहुने भएको छ। सोही मितिमा सुवेदी पक्षले नर्थ क्यारोलिनामा आयोजना गरेको अधिवेशन नै एकताको अधिवेशन हुनेछ। उक्त अधिवेशनमा लामिछानेको सिफारिसमा एक जना कन्भेनर थप गरी दुई जना बनाइनेछ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार यो कार्यकालमा लामिछानेले सुवेदी नेतृत्वको कार्यसमितिलाई सहयोग गर्नेछन्। आगामी निर्वाचनको प्रक्रिया र सदस्यता वितरण प्रणालीलाई निष्पक्ष बनाउन सुवेदी राजी भएसँगै लामिछाने सहमति गर्न तयार भएका हुन्।

यसअघि निर्वाचनमा लामिछानेलाई सुवेदीले हराएका थिए। तर, लामिछाने पक्षको भने फर्जी सदस्य, षड्यन्त्रमूलक र अपादर्शी तरिकाले भएको निर्वाचनका कारण आफूहरुले पराजय भोग्नुपरेको आरोप छ।

आउँदो कार्यकालको लागि लामिछानेले अध्यक्षकै तयारी गरेका छन्। स्वच्छ ढंगले निर्वाचन भए आफूले विजयी हासिल गर्ने लामिछानेको विश्वास छ।

यता लामिछाने पक्षका केही भने सहमति गरेकोमा असन्तुष्ट छन्। सिपी पौडेललगायतका केही व्यक्तिले लामिछानेले एक्कासी सहमति गरेको देख्दा अचम्म परेको बताएका छन्।