श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन्।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरुको अभिमुखिकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरु दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो ब्याप्त रहेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सेलर (श्रम) र श्रम सहचारीहरुले भुमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सेलर (श्रम) र श्रम सहचारीहरु विदेशी कानुन तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने बताए।

अभिमुखिकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणालि, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कुटनीति, वैदेशिक रोजगार सम्वन्धी कानुन लगायतबारे विज्ञहरुले प्रशिक्षण दिएका थिए।

विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानुनी व्यवस्था छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुबेदी तथा बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको हो ।

काउन्सेलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्याङ्कनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरिएको हो।

माघ १९ गते सूचना प्रकाशित गर्दै ‘काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरिएको थियो।