एनआरएनए यूएई : ‘गैर–राजनीतिक संस्था’मा खुलेआम दलीय भागबण्डा, ५७ जनाको ‘जम्बो’ समिति

एनआरएनए यूएई : ‘गैर–राजनीतिक संस्था’मा खुलेआम दलीय भागबण्डा, ५७ जनाको ‘जम्बो’ समिति बर दुबईको कार्लटन होटलमा भेला भएका प्रतिनिधि । फोटो सामाजिक सञ्जाल

काठमाडौं । राजनीतिक दलहरूको स्वार्थ र विभिन्न दाउपेचका कारण ‘भताभुङ’ बनेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईमा अन्तत : दलीय भागबण्डाकै आधारमा नयाँ समिति बनाइएको छ।

राजनीतिक दलका प्रवास संगठनको खिचातानीका कारण ‘लथालिङ’ भएको एनसीसी यूएईमा भद्रगोल समिति बनाइएको हो। त्यसो त केही समयअघि पनि दलीय भागबण्डाकै आधारमा ३१ सदस्यीय कार्यसमिति बनाउने सहमति भएको थियो। तर, त्यो समिति औपचारिक घोषणा नहुँदै ‘भंग’ भयो।

अहिले फेरि दलीय भागबण्डा अनुसार नै ५७  सदस्यीय ‘जम्बो’ कार्यसमिति बनाइएको छ। यूएईमा सक्रिय ६ राजनीतिक दलका भातृ संगठन र नेपाली एसोसिएसनका प्रतिनिधिलाई समावेश गरेर नयाँ समिति बनाइएको हो। सम्भवत : यो समिति अबको केही दिनमा औपचारिक रुपमा घोषणा गरिनेछ।

नयाँ कार्यसमितिमा नेकपा माओवादी (केन्द्र) का ठाकुर ढुंगानालाई नेतृत्वको जिम्मेवारी दिइएको छ। वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पासाङ शेर्पाले पाएका छन्। शेर्पाले जनता समाजवादीको कोटामा वरिष्ठ उपाध्यक्ष बन्ने मौका पाएका हुन्।

यस्तै १२ जनालाई उपाध्यक्ष बनाइएको छ। जसमा निरञ्जन सिलवाल (माओवादी केन्द्र), रमेश ढकाल (माओवादी केन्द्र), विकास शाही (नेपाली कांग्रेस), मदन अधिकारी (नेकपा एमाले), सुजन सापकोटा ( नेकपा एमाले), कृष्ण प्रसाद पौडेल (नेकपा एमाले), सोभा शर्मा (जनता समाजवादी), मोहम्मद नोउमान सिद्धिकी (जनता समाजवादी), नरेश सेन (राप्रपा), जीवन दास (वैज्ञानिक समाजवादी), कृष्ण ठाकुर (नेपाली एसोसियन) र केशव नेपाल (नेपाली एसोसिएसन) रहेका छन्। नेपाली काँग्रेसकी सोनम श्रेष्ठ महिला उपाध्यक्ष बनेकी छिन्।

यस्तै महासचिव दिपक खड्कालाई बनाइएको छ। खड्काले कांग्रेसको कोटामा महासचिव हुने अवसर पाएका हुन्।

यसैगरी सचिवमा पुस्कर शर्मा सापकोटा (नेपाली कांग्रेस),सुमन पराजुली (नेकपा एमाले), बिरेन्द्र नर्कमी (नेकपा एमाले), मुन्ना साम्सुल (जनता समाजवादी), निरञ्जन खत्री (राप्रपा), ताराबहादुर बोहरा (नेपाली एसोसिएसन) र कुमार लम्साल (नेपाली एसोसिएसन)  रहेका छन्।

त्यसैगरी नेकपा एमालेको कोटामा बिष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन्। यस्तै नेपाली कांग्रेसबाट रमेश गौतम र प्रकास थापा सह–कोषाध्यक्ष भएका छन्।

यसैगरी युवा संयोजकमा राप्रपाको तर्फबाट भिम मल्ल ठकुरी चयन भएका छन् भने युवा सह–संयोजकमा अपिल भट्टराई (नेपाली कांग्रेस) र शम्भु पोख्रेल (नेकपा माओवादी केन्द्र) चुनिएका छन्। त्यस्तै नेपाली एसोसियनबाट रोमा अधिकारीले महिला संयोजकको पद पाएकी छिन्।

नयाँ समितिमा सबैभन्दा बढी १३ जना नेपाली कांग्रेसका परेका छन्। यस्तै नेकपा माओवादी केन्द्रको कोटामा अध्यक्ष ढुंगानासहित ८ जना, नेकपा एमालेबाट ८ जना, जनता समाजवादीबाट ७ जना र राप्रपाबाट ५ जना परेका छन्। वैज्ञानिक समाजवादीबाट भने १ उपाध्यक्षसहित ११ जना परेका छन्।

एनआरएनए विशुद्ध गैर–राजनीतिक संस्था हाे। उसको विधानमै गैर–राजनीतिक संस्था भन्ने स्पष्ट छ। संघको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७.६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरु राजनीतिक, जातिय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी तथा सदस्यमा पदभार ग्रहण पाइँदैन। तर, यूएईमा भने खुलेआम दलीय भागबण्डमा पद बाँडफाँड गरिएको छ।