चरम गरिबीमा अफगानिस्तान : आमाको आँखैअघि प्राण त्याग्छन् बालबालिका

चरम गरिबीमा अफगानिस्तान : आमाको आँखैअघि प्राण त्याग्छन् बालबालिका फोटो : एफपी/मुर्तजा खालकी/अनादोलु एजेन्सी

काठमाडौं । गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि संयुक्त राष्ट्र संघ र सहायता समूहहरूले लाखौंलाई खाना उपलब्ध गराउन आपतकालीन कार्यक्रमहरू सुरु गरेका थिए। तर, अहिले ती समूहहरू बिग्रँदै गएको अवस्था देखेर चिन्तित छन्। तिनीहरूसँग सीमित स्रोतहरू छन् र जनसंख्याको आवश्यकता ठूलो छ।

यो संकटग्रस्त देशमा गरिबी बढ्दै गएको छ। अब पहिले भन्दा बढी अफगानीलाई मद्दत चाहिएको छ। युक्रेनमा जारी युद्धले विश्वभर खाद्यान्नको मूल्य बढाएको छ र अफगानिस्तानलाई दिएको अन्तर्राष्ट्रिय सहायता अझै पूरा हुन सकेको छैन।

यी सबै कारणले बालबालिका मात्रै होइन उनीहरुकी आमाले पनि खाना खान पाइरहेकी छैनन्।

नाजिया नामकी एक अफगान महिलाले आफ्ना चार बालबालिकाको कुपोषणका कारण मृत्यु भएको बताइन्। ३० वर्षीया नाजियाले एएफपी समाचार एजेन्सीलाई भनिन्, ‘मेरा चारैजना बालबालिका भोक र गरिबीका कारण मरे।’

नाजिया र उनकी सात वर्षीया छोरीको परवान प्रान्तको अस्पतालमा उपचार भइरहेको छ। दुवै कुपोषणको सिकार भएका छन्। नाजियाका श्रीमान दैनिक ज्याला मजदुरी गर्छन्। तर, नाजियाले आफ्नो श्रीमान् लागूऔषधको लतमा रहेको र घरमा पैसा नल्याउने बताइन्।

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफका अनुसार यस वर्ष अफगानिस्तानका ११ लाख बालबालिका गम्भीर भोकमरीको शिकार हुनेछन्। अत्यधिक पातलोपन कुपोषणको सबैभन्दा खराब रूप हो। यो रोगमा बच्चामा खानाको यति कमी हुन्छ कि उसको प्रतिरक्षा प्रणालीले काम गर्न छोड्छ। उनीहरुलाई अन्य रोग लाग्ने जोखिम पनि हुन्छ।

पछिल्लो ६ महिनामा कान्दाहारको एक अस्पतालमा ११ सय कुपोषित बालबालिका भर्ना भएका थिए, जसमध्ये ३० बालबालिकाको मृत्यु भएको थियो। कान्दाहारको पिछडिएको क्षेत्रकी जमिलाले गत महिना आफ्नो आठ महिनाको बच्चाको कुपोषणका कारण मृत्यु भएको बताइन्। ‘सरकारले हामीलाई सहयोग गरेन, कसैले हामीलाई खानेकुरा छ कि छैन भनेर पनि सोधेन,’ उनी भन्छिन्।

संयुक्त राष्ट्र संघका निकायहरूले हाल देशको ३८ प्रतिशत जनसंख्यालाई आधारभूत खाद्यान्न उपलब्ध गराउन सक्षम छन्। तर, पैसाको अभाव ठूलो समस्या हो। संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको अन्त्यसम्म देशका करोडौं जनता गरिबीको रेखामुनि रहेकाले खाद्यान्नको खर्च धान्न गाह्रो भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार करिब ३ करोड ८० लाख मानिस गरिबीको रेखामुनि रहेका छन्।

अर्थतन्त्र खस्किने क्रम जारी रहँदा र मूल्यवृद्धि भइरहँदा सन् २०२२ को मध्यसम्ममा ९७ प्रतिशत जनसङ्ख्या यस रेखाभन्दा तल पर्न सक्ने आंकलन गरिएको छ।