लेते क्षेत्रमा २ पटक घुमेको थियो बेपत्ता जहाज

लेते क्षेत्रमा २ पटक घुमेको थियो बेपत्ता जहाज

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ।

म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ। मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन्।

बादल लागेका कारण जहाज नदेखिएको तर, आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए।

‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन। हल्का पानी परिरहेको छ ।’

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए। सो जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।