पर्यटक भित्र्याउने लोभमा मदिराको बिक्रीवितरण खुला नगर्ने साउदीको अडान

पर्यटक भित्र्याउने लोभमा मदिराको बिक्रीवितरण खुला नगर्ने साउदीको अडान

काठमाडौं । साउदी अरबले त्यहाँको पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न खोज्दै गर्दा मदिरामा लगाइएको प्रतिबन्ध भने नहटाउने बताएको छ।

साउदी अरबका सहायक पर्यटन मन्त्री राजकुमारी हाइफा बिन्त मोहम्मदले इस्लामको जन्मस्थल मुलुकले मदिरा प्रतिबन्धित गरेको कानूनलाई फेरबदल नगर्ने बताएकी हुन्।

मदिरा बिक्रीवितरणमा प्रतिबन्ध हुँदा पनि साउदीले विश्वभरका पर्यटकहरूलाई आकर्षित गरेको उनको दावी छ।

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा बोल्दै उनले मदिराको मामिलामा साउदी अरब धेरै हदसम्म पारदर्शी भएको र पहिलेदेखि नै धेरै स्पष्ट रहँदै आएको बताइन्।

साउदीको मेगा-प्रोजेक्ट ‘एनईओएम’ मा अल्कोहल प्रदान गर्न अनुमति दिन सकिन्छ कि ? भन्ने विषयको एक प्रतिवेदनको प्यानल सत्रमा एउटा प्रश्नको जवाफ दिने क्रममा उनले वर्तमान कानूनलाई नै निरन्तरता दिने बताएकी हुन्।

सो सन्दर्भमा राजकुमारी हाईफाले साउदी अरबले पर्यटनमा विश्वव्यापी रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताइन्।

‘सरकारी तवरबाट यात्रा र पर्यटन उद्योगलाई प्राथमिकतामा राखेकोले हामीले महामारीको समयमा यति राम्रो काम गर्न सफल भयौं’, ‘साउदी अरब आउटलुक’ शीर्षकको प्यानलमा बोल्दै राजकुमारी हाइफाले भनिन्।

यस हप्ताको सुरुमा प्रकाशित ‘डब्लुईएफ ट्राभल एण्ड टुरिज्म डेभलपमेन्ट इन्डेक्स’ को पछिल्लो संस्करणमा महामारी पूर्वको स्तरबाट साउदी अरबले १० अंकले फड्को मारिसकेको बताइएको छ। त्यस्तै, उद्योगमा भएको विकास, दिगोपन र लचिलोपनका आधारमा साउदी अरब १ सयभन्दा बढी देशहरूमध्ये ३४ औं स्थानमा रहेको बताइएको छ।

साउदी अरबले तेलीय पदार्थमा निर्भर रहेको आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने योजनाअनुरुप त्यहाँ छुट्टी मनाउन आउने विदेशीलाई आकर्षित गर्ने उद्देश्यले २०१९ मा नयाँ भिसा योजना सुरु गरेको थियो।

तत्काल पर्यटन भिसा अनलाइन वा साउदीको एयरपोर्टमा आइपुगेपछि प्राप्त गर्न सकिने बताइएको छ। यो प्रणाली देशको अर्थतन्त्रलाई विविधीकरण गर्ने महत्वाकांक्षी साउदी योजना ‘भिजन २०३०’ को एक अंगको रुपमा रहेको छ।

साउदी अरबले कोभिड महामारीपूर्व नै २०३० सम्ममा वार्षिक १ सय मिलियन आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य लिएको थियो।