अमेरिकामा नेपाली विद्यार्थीलाई अस्पतालले पौने १४ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने

अमेरिकामा नेपाली विद्यार्थीलाई अस्पतालले पौने १४ अर्ब रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । शल्यक्रियाका क्रममा हेल्चेक्र्याइँ गरेको ठहर गर्दै अमेरिकामा एक नेपाली विद्यार्थीलाई १११ मिलियन डलर (१३ अर्ब ७६ करोड ४० लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको छ।

सेन्ट क्लाउड मेडिकल सेन्टरले नेपाली विद्यार्थी अनुज थापाको शल्यक्रियाका क्रममा हेल्चेक्र्याइँ गरेको ठहर अदालतले गरेको हो।

सेन्ट क्लाउडका २ जना अर्थोपेडिक चिकित्सकहरुको लापरवाहीका कारण थापाको खुट्टामा स्थायी क्षति र अशक्तता भएको अदालतको ठहर छ। सन् २०१७ को जनवरीमा थापा सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा पहिलो वर्षको विद्यार्थी हुँदा फुटबल खेल्ने क्रममा घाइते भएका थिए।

उनलाई एम्बुलेन्सबाट सेन्ट क्लाउड अस्पतालमा लगिएको थियो। त्यतिबेला ड्युटीमा रहेका डा चार्ड होलिनले थापाको खुट्टाको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। तर थापाले अस्वीकार गरेका थिए।

थापाले नमाने पनि अर्का डा विलियम पास्केको सहयोगमा खुट्टाको सर्जरी गरिएको थियो सर्जरीपछि थापाले बायाँ खुट्टामा अत्याधिक पीडाको अनुभव गरे पनि उनलाई त्यसैरात अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

पीडा कम नभएपछि उनी ६ दिनपछि अस्पताल पुगेका थिए। त्यसपछि अर्का चिकित्सकले उनलाई सर्जरी गरे। त्यतिबेला उनको खुट्टामा कडा प्रकारको कम्पार्टमेन्ट सिन्ड्रोम देखिएको थियो भने खुट्टाको मांशपेशी पनि खैरो भएको थियो। त्यो यता थापाका खुट्टामा २० वटाभन्दा धेरै सर्जरीहरु गरिएका थिए।

सेन्ट क्लाउड अस्पतालले थापाको प्रारम्भिक लक्षणहरु मूल्यांकन गर्न र उनको कम्पार्टमेन्ट सिन्ड्रोमको उपचार गर्न असफल भएको भन्दै मुद्दा दायर गरिएको थियो। उपचारमा भएको कमजोरीका कारण थापाको स्थायी र अशक्त बनाउने प्रकारको चोट परेको दावी गरिएको थियो ।

थापालाई अदालतले अस्पतालबाट ११ करोड १२ लाख ५१ हजार ५ सय ५९ डलर क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापाको विगतको र भविश्यको पीडा, भावनात्मक चोट र उपचार खर्चस्वरुप उक्त रकम दिइने भएको हो।