अमेरिका निवासी जोशी र कँडेल जसले नेपाली बालस्वास्थ्यका लागि १ करोड २४ लाख सहयोग गरे

अमेरिका निवासी जोशी र कँडेल जसले नेपाली बालस्वास्थ्यका लागि १ करोड २४ लाख सहयोग गरे टेक्सासको कार्यक्रममा डा. कोइरालासँग जोशी र डा.कँडेल

टेक्सास। अमेरिकामा बसेर नेपाल समाजसेवाका लागि लगानी गर्नेमध्ये एउटा परिचित नाम हो, गौरीराज जोशी।

नेपालको चितवन घर भएका जोशी अमेरिकामा एक सफल सूचना–प्रविधि व्यवसायी हुन्। लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बसेर व्यवसायमा फड्को मारिरहेका उनको परिचय व्यापारीमा मात्रै सिमित छैन।

अमेरिकामा बसोबास गर्ने नेपालीमाझ मात्र होइन पूरै विश्वभर उनको परिचय एक असल सामाजिक अभियान्ताको छ।

अझ संसारभर रहेका नेपालीहरुको अभिभावक संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिव जस्तो मह्त्वपूर्ण जिम्मेवारी पनि उनको काँधमा छ।

बौद्धिक तथा युवावर्गमा निकै लोकप्रिय मानिने जोशीले सामाजिक अभियन्ताका रुपमा गरेका केही कामहरु नजरअन्दाज गर्ने खालका छैनन्।

अमेरिकाको नेपाली समुदायलाई मात्र होइन जन्मदेश नेपाललगायत विदेशका अन्य ठाउँहरुमा जो कोही नेपालीलाई आइपर्ने आपत्त विपत्तमा जोशीका सहयोगी हात अघि बढछन्। अरुको समस्यालाई पनि आफ्नै जसरी लिएर उनले दु : खमा मलहम लगाउने प्रयास गरिरहेका हुन्छन्।

पराइ भूमिमा मृत्युवरण गरेका नेपालीको शवलाई देशमा फिर्ता पठाउन होस्, या विरामी परेर विदेशी अस्पतालमा छट्पटाइरहेका नेपालीलाई उपचार सहयोग गर्न जोशी सधै तत्पर हुन्छन्। उनले ‘गो फण्ड’ मार्फत अभियान नै चलाएर आर्थिक संकलन गर्छन्। र, त्यसमा आफूले पनि दिल खोलेर सहयोग गर्छन्।

आफैले नबताए पनि उनलाई नजिकबाट चिन्नेहरूले जोशीले यसरी अहिलेसम्म करोडौं रकम सहयोग गरिसकेको बताउँछन्।

मंगलबार मात्रै उनले नेपालमा बालबालिकाको स्वास्थ्यका लागि ५० हजार अमेरिकी डलर (करिब ६४ लाख नेपाली) रुपैयाँ सहयोग गरेका छन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले काठमाडौंसहित सातै प्रदेशमा सञ्चालन गर्न थालेको ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ नामक गैरनाफामुलक संस्थालाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन्।

यत्ति मात्र होइन जोशीले आफूसहित गरेर नेपाली समाज टेक्सास (एनएसटी) तथा एनआरएनए टेक्सास च्याप्टरको पहलमा १ लाख ७१ हजार डलर (नेपाली झण्डै २ करोड १२ लाख) सहयोग उपलब्ध गराएका हुन्। जसमा जोशी जस्तै डा. अनुज कँडेलले पनि ५० हजार डलर सहयोग गरेका थिए। डा. अनुज पनि चितवन निवासी हुन्।

मंगलबार टेक्सास राज्यको अर्भिङस्थित करी लिफ्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनएसटीका पदाधिकारीको उपस्थितमा नेपालीहरूले उक्त सहयोग डा.  कोइरालालाई उपलब्ध गराएका हुन्।

नेपालमा ओपन हार्ट सर्जरीको सुरुवात गराएका डा.कोइरालाले स्थापना गर्न लागेको गैरनाफा मुलक संस्था ‘चाइल्ड हेल्थ केन्द्र’को अहिले काठमाडौं र झापाको दमकमा निर्माणकार्य सुरू भइसकेको छ। बाँकी ७ वटै प्रदेशमा पनि छिट्टै कार्य सुरू हुने कोइराला बताउँछन्।

सहिद गंगालाल अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको अस्पतालको रूपमा रूपान्तरण गर्न विशेष योगदान दिएका डा. कोइरालाले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्न चाहेको बताउँदै आएका छन्। त्यसको लागि नै डा.कोइरालाले २१ वर्ष अगाडि नै विशेष कोर्ष अध्ययन गरेका थिए।

मंगलबार ५० हजार डलर सहयोग गर्दै उनले अरुलाई पनि परोपकारी कार्यमा जोडिन अनुरोध गरेका थिए। जोशीले यसअघि अमेरिकामा पशुपतिनाथ तथा बौद्ध बिहार मन्दिरको लागि ५० हजार डलर सहयोग गरेका थिए। महामारी या नेपालमा भएको दैविक प्रकोपहरुमा जोशीले लाखौं रकम सहयोग गरिसकेका छन्।

एनआरएनएले चलाउने सेवा तथा परोपकारी परियोजनाहरुमा पनि उनले दिल खोलेरै सहयोग गरिरहेका हुन्छन्। जसको उनीसँग हिसाब नै छैन।

जोशीले केही दिन अघि मात्रै एनआरएनएले नेपालमा बनाउने भनेको वृद्धाश्रमको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

चाइल्ड हेल्थ केन्द्रलाई जोशी, डा. कंडेलसहित प्रवेश ज्ञवालीले ३० हजार डलर, राजिवराज भाटले २५ हजार सहयोग गरेका थिए। यस्तै कार्यक्रममा सहभागी अधिकांश नेपालीहरूले समेत आफूले सकेको सहयोग उपलब्ध गराएका थिए।