जित सुनिश्चित भएपछि बालेनले भने : घोषणापत्रका कुरा लागू भएको दिन विजय उत्सव मनाउँला

जित सुनिश्चित भएपछि बालेनले भने : घोषणापत्रका कुरा लागू भएको दिन विजय उत्सव मनाउँला File Photo

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदावारी दिएका बालेन साहको जित लगभग सुनिश्चित भएको छ। अब केही मतमात्र गन्न बाँकी रहँदा उनी फराकिलो मतान्तरले अघि छन्।

जित सुनिश्चित भएपछि बालेनले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न अनुरोध गरेका छन्। उनले विजय जुलुस भन्दा पनि घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउन आग्रह गरेका छन्।

बालेनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्ने भन्दै बालेनले अबको बाटो सहज नभएको र वास्तविक परिक्षा अब सुरु हुने उल्लेख गरेका छन्।

‘जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ। घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला। तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ’, बालेनले फेसबुकमा लेखेका छन्।

‘अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ। हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ,’ बालेनले अगाडि भनेका छन्।

उनले साथ र सुझाव जत्तिकै महत्वपुर्ण खबरदारीको पनि रहेको बताएका छन्। ‘हामीलाई साथ र सुझाव जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईंहरुसँग जोडिरहेका हुन्छौं। तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुनेबित्तिकै हामी आवाज दिनेछौं’, बालेनले भनेका छन्।

उनले अबको आफ्नो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुने बताए। यसका लागि सबै मिलेर अगाडि बढ्न पनि उनले आग्रह गरे।