नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई आग्रह

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई आग्रह

काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियासँग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भेटवार्ता गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने बताए ।

अध्यक्ष मल्लले भने, ‘नेपाल र मलेसियाबीच श्रमको क्षत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।’

नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए । नेपालमा खासगरी पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे ।

अध्यक्ष मल्लले बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अनुरोध गरे । मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफूहरुले पनि पहल गर्ने अध्यक्ष मल्लको प्रतिबद्धता छ ।

मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफूहरु तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्वन्धी कानून स्पष्ट हुन नसकेको गुनासो गरे । उनले भने, ‘‘मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन तर प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।’’

मेलेसियाले अहिले पनि लाखौं नेपाली युवालाई रोजगारी दिएको स्मरण गराउँदै हसनले आगामी दिनमा यो सङ्ख्या थप बढ्न सक्ने जानकारी दिए । जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाइ छ । नेपाल र मलेसियाबीच निजी क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए ।