साउदीमा जहाज उडाउने महिला टोली

साउदीमा जहाज उडाउने महिला टोली

रियाद । साउदी अरबको एक एयरलाइन्सले चालक दलका सबै सदस्य महिला रहेको देशकै पहिलो उडान पूरा गरेको छ।

साउदी अधिकारीले यसलाई राज्यको सशक्तिकरणका लागि कोसेढुङ्गा भएको बताएका छन्।

फ्लाईअडिलद्वारा सञ्चालित सो उडान बिहीवार राजधानी रियादबाट रेड सी तटीय सहर जेद्दाको लागि तय गरिएको थियो।

एयरलाइन्सका प्रवक्ता इमाद इस्कन्दरानीका अनुसार सात सदस्यीय चालक दलमा प्रथम अधिकृतसहित ६ जना साउदी महिला रहेका छन्। उनीहरुमध्ये कप्तानमात्र विदेशी महिला थिइन्।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले शनिबार फ्लाईअडिलको घोषणा गरेको हो। अहिले साउदीको उड्डयन क्षेत्रमा महिलाहरूको भूमिकालाई जोड दिइएको छ।

प्राधिकरणले २०१९ मा महिला साउदी सह–पाइलटसँग पहिलो उडानको घोषणा गरेको थियो।

साउदीले उड्डयन क्षेत्रको द्रुत विस्तारलाई अघि बढाउने प्रयास गरिरहेको छ।