विश्वमा महामारी घट्यो, मृत्युदण्ड बढ्यो

विश्वमा महामारी घट्यो, मृत्युदण्ड बढ्यो

काठमाडौं । कोभिड महामारी कम भएसँगै विश्वमा मृत्युदण्ड दिनेको संख्या बढेको छ। गत वर्ष ५७९ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये सबैभन्दा बढी इरानका मारिएका थिए।

मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले सन् २०२१ मा १८ देशका ५७९ जनालाई मृत्युदण्डको सजाय दिएको जुन २०२० को तुलनामा २० प्रतिशतले बढी भएको जनाएको छ।

मृत्युदण्ड दिने देशमा इरान शीर्ष स्थानमा छ। जहाँ ३१४ जनालाई मृत्युदण्ड दिइएको छ। सन् २०२० मा त्यहाँ २४६ जनालाई मृत्युदण्ड दिइएको थियो।

सन् २०२१ मा मिश्रमा ८३ जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो, जुन २०२० को तुलनामा २२ प्रतिशतले बढी हो।

साउदी अरबमा सन् २०२० को तुलनामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको संख्या दोब्बर भएको छ। त्यहाँ २०२१ मा ६५ जनालाई मृत्युदण्ड दिइएको थियो।

एम्नेस्टीको प्रतिवेदनले सन् २०२१ मा ५६ देशका अदालतले २०५२ जनालाई मृत्युदण्डको सजाय सुनाएको बताएको छ। बंगलादेश, भारत, डिआर कंगो, मिश्र र पाकिस्तानमा मृत्युदण्डको सजायमा उल्लेख्य वृद्धि भएको छ।

प्रतिवेदनमा चीनको तथ्यांक समावेश गरिएको छैन, तर त्यहाँ एक हजारभन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइएको अनुमान गरिएको छ। जुन विश्वमा सबैभन्दा बढी हो।

सन् २०२१ को अन्त्यसम्ममा, १०८ देशहरूले मृत्युदण्ड पूर्णरूपमा समाप्त गरिसकेका छन्। अन्तर्राष्ट्रिय कानुनमा हत्याको अपराधमा मात्रै मृत्युदण्डको व्यवस्था भए पनि लागुऔषधसम्बन्धी कानुनमा धेरै देशले मृत्युदण्डको व्यवस्था गरेका छन्।