ओमनले हटायो कोभिड प्रतिबन्धात्मक नियम

ओमनले हटायो कोभिड प्रतिबन्धात्मक नियम

मस्कट। ओमनले कोभिड–१९ लाई नियन्त्रण गर्न लागू गरेका सबै प्रतिबन्धात्मक नियम हटाएको छ।

ओमन न्यूज एजेन्सीका अनुसार कोभिड नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप जारी गरिएका प्रतिबन्धात्मक नियम आइतबारदेखि पूर्ण रुपमा हटाइएको हो।

रोयटर्सको तथ्यांक अनुसार महामारी सुरु भएदेखि ओमनमा ३ लाख ८९ हजार ९४३ जना संक्रमित भएका छन्। त्यस्तै, ४ हजार २६० जनाले कोभिडका कारण ज्यान गुमाए।

प्रतिबन्धात्मक नियम हटाइएपनि ओमनको सुप्रिम कमिटीले स्वास्थ्य मापदण्डको पालना गर्न भने आग्रह गरेको छ।

ज्वरो वा श्वासप्रश्वाससँग सम्बन्धित कुनै लक्षण देखिएमा घरमै बस्न, अरूसँग भेटघाट नगर्न र बिरामीको सम्पर्कमा आउँदा मास्क लगाउन आग्रह गरिएको छ।

त्यसैगरी कमिटीले वृद्धवृद्धा, दीर्घरोगी व्यक्ति र इम्युनोडेफिशियन्सी भएका व्यक्तिलाई बन्द ठाउँमा मास्क लगाउन आग्रह गरेको छ। यस्तै ओमन रहेका सबैलाई खोपको बुस्टर डोज लगाउन समेत आग्रह समेत गरेको छ।