एनआरएनएमा भद्रगोल पदाधिकारी : उप–महासचिवले आफैलाई महासचिव बनाए

एनआरएनएमा भद्रगोल पदाधिकारी : उप–महासचिवले आफैलाई महासचिव बनाए

काठमाडौं। विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो समय तीव्र आलोचना भइरहेको छ। प्रतिनिधिका विभिन्न हर्कतले संघ बदनाम हुँदै गइरहेको छ।

नेतृत्व विवादकै कारण संघले दशौं महाधिवेशन समयमै गर्न सकेन। अन्तत: ६ महिनापछि संस्था जोगाउने नाममा प्रजातन्त्रिक विधि र पद्धतिलाई कुल्चेर बहुपदीय कार्यसमिति बनाइयो।

अहिले संघमा तीन अध्यक्षसहितको जम्बो कार्यसमिति छ। जसमा ५६ जना त आइएसमै छन्। अफिस ब्यारियरसहित १०४ जनाको जम्बो टिम छ। मनोयन गर्नुपर्ने पदाधिकारी त अझैसम्म गरिएकै छैनन्।

जम्बो समितिका कारण निर्णय गर्न पनि कठिनाइ हुने संघका पदाधिकारीले गुनासो गर्दै आएका छन्। यति सम्मकि समितिमै रहेका एक–अर्काबीच चिनजान समेत हुननसकेको पदाधिकारी बताउँछन्।

‘यति ठूलो समिति छ । खोइ कता–कताबाट नयाँ अनुहार आएका छन्। एनआरएनए अभियानमा योगदान नै नभएकाहरुलाई एक्कासी छलाङ मारेर आइसीसीमा ल्याइएको छ,’ ती पदाधिकारी व्यंग्य गर्दै भन्छन्, ‘कसको पद के हो ? केही थाहा हुँदैन। आफ्नो पद आफूलाईबाहेक अरुलाई थाहा नहुने अवस्था छ।’

यसैबीचमा अर्को एउटा रोचक कुरा बाहिरिएको छ। त्यो, के भने उप–महासचिवको पदमा रहेका बेलायत निवासी विनय अधिकारीले आफ्नो पद आफैले बढाएर महासचिव बनाएका छन्। अधिकारीले आफूलाई संघको केन्द्रीय महासचिव दावी गर्दै आएका छन्।

अधिकारीको फेसबुक पोस्ट, जहाँ उनले आफूलाई केन्द्रीय महासचिव भनेका छन्

उनले एनआरएनए यूएईका पूर्व उपाध्यक्ष निरन्जन सिलवाललाई आफ्नो पुतलिसडकस्थित कार्यालयमा स्वागत गरेको फोटो सार्वजानिक गर्दै आफूलाई महासचिव बनाएका हुन्।

अधिकारीले आफूलाई आफैले महासचिव दावी गरेपछि अहिले एनआरएनए वृत्त तरङगित छ। अधिकारीलाई आगामी बैठकबाट कारवाही समेत गर्न सकिने संघका एक उच्च पदाधिकारी बताउँछन्।

सहमतिअनुसार अहिले महासचिवको जिम्मेवारीमा अमेरिका निवासी गौरीराज जोशी र डा। केशव पौडेललाई दिइएको थियो। अधिकारीको जिम्मेवारी उप–महासचिवको हो। नयाँ बनाइएको जम्बो समितिमा अधिकारीसहित डा. देवी बस्नेत (कोरिया), रामशरण सिम्खडा (बेलायत), गणेश केसी (अष्ट्रेलिया), ओम गुरुङ  (जापान)  र नारायण काफ्ले (अष्ट्रेलिया)  उप–महासचिव पदमा छन्। उप–महासचिव यसअघि थिएन, नयाँ बनाइएको पद हो।

एनआरएनएको आधिकारिक वेभसाइटमा पदाधिकारीको नामवाली

अधिकारीले आफैले आफैलाई महासचिव किन दावी गरे त ? यसविषयमा प्रवास खबरले जिज्ञाशा राख्ने प्रयास गरेपनि उनीसँग सम्पर्क हुन सकेन।

त्यसो त अधिकारीले यसअघि महासचिव पदमै उम्मेदवारी दर्ता गराएका थिए। ‘टिम रवीना’ को तर्फबाट महासचिवमा उम्मेदवारी दिएका उनलाई अन्तिम समयमा भने उप–महासचिव बनाइएको थियो।