भैरहवामा जेठभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्छु : श्रममन्त्री

भैरहवामा जेठभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्छु : श्रममन्त्री

भैरहवा ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन यहि जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका छन्।

भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै संचालन गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रकृया भैरहवाबाटै पुरा हुनुपर्ने माग गरेका थिए।

मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए।

विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखि सम्मानजनक व्यवहार गर्न मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिएका थिए। गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिन गर्नुपर्ने आवश्यक व्यवस्था मिलाउन मन्त्री श्रेष्ठ सहितको टोली शुक्रबार भैरहवा आएको हो।