साउदीमा ७ नेपाली अलपत्र, भन्छन्– पिउने पानी समेत छैन कसरी बाँच्ने ?

साउदीमा ७ नेपाली अलपत्र, भन्छन्– पिउने पानी समेत छैन कसरी बाँच्ने ? पीडित बस्ने क्याम्प

काठमाडौं। रोजगारीको लागि साउदी अरब पुगेका ७ नेपाली युवा अलपत्र परेका छन्। एक वर्षअघि साउदी पुगेका उनीहरु विगत ५ महिनादेखि कामविहीन छन्।

‘५ महिना भयो। कम्पनीले काम पनि दिएको छैन। तलब पनि छैन। हाम्रो त बिजोग भइसक्यो,’ अलपत्र पर्नेमध्येका एक महत्तोरीका शत्रुधन ठाकुरले प्रवास खबरसँग दुखेसो सुनाए। अलकासिमको नवनिया भन्ने ठाउँमा ठाकुरसहित सुमित सिंह ठकुरी, सन्तोष कुमार मण्डल, जितेन्द्र पासवान, श्यामकुमार साह, बसन्तकुमार साह, र जुरि कुमार अलपत्र परेका हुन्।

उनीहरु गत वर्षको अप्रिलमा बानेश्वरको ओसो रिक्युटिङ एजेन्सीमार्फत साउदी अरब पुगेका थिए। उनीहरुलाई कार्पेन्टरको काम भनेर कटेरा साउदी अरेविया नामको कम्पनीमा पठाइएको थियो।

‘कार्पेन्टरको काम भनेर अन्तर्वार्ता दिएका थियौँ । पास पनि भइयो। तर, यहाँ आएर त्यो काम पाइएन। काठको काम भनेको आल्मुनियमको काममा लगायो,’ ठाकुर भन्छन्, ‘भनेजस्तो काम नपाएता पनि फर्किनु भन्दा जे काम भए पनि गर्नु उचित ठानेर गरियो। ६ महिनासम्म त ठिकै थियो। अहिले त काम नै छैन।’

उनीहरुबाट म्यानपावरले पठाउने बेलामा वैदेशिक रोजगार ऐनविपरीत डेढ लाख रुपैयाँ असुलेको थियो।

कटेरा भारतीय नागरिकले सञ्चालन गरेको कम्पनी हो।

‘अहिले कम्पनी ऋणमा डुबेको छ भन्ने हामीले सुनेका छौँ। साउदी सरकारबाट लिएको थुप्रै ऋण तिर्नुपर्ने छ रे ! त्यसैले काम पनि रोकिएको हो भन्ने सुनिन्छ। कुनै साइट चलेको छैन। सबै जनाले विकल्प खोजिरहेका छन्,’ ठाकुरले भने।

यसअघि उनीहरुले काम गरेको साइट

तलब नपाउँदा अहिले खानाको समस्या भइरहेको उनीहरुको गुनासो छ। अहिले आफ्नो समस्या कम्पनीका जिम्मेवार व्यक्ति समक्ष राख्न नपाएको उनीहरु बताउँछन्।

‘यहाँ रहेका साइट अफिसका मान्छै सबै अन्यत्र गइसके। कम्पनीको हेड अफिस रियादमा छ। यहाँ त समस्या सुनिदिने जिम्मेवार व्यक्ति पनि कोही छैन। हामीलाई तनाव भइसक्यो,’ पीडित मण्डलले सुनाए।

अहिले बस्ने ठाउँमा पानीको समेत अभाव भएको पीडितको गुनासो छ। ‘पिउने पानीको समस्या छ । ट्याङ्करको पानी हो यहाँ आउने। कम्पनीले विल नतिरेका कारण पानी ल्याउन छोड्यो। पानी तान्ने मोटर समेत उखेलेर लगिसक्यो। पानी नपाएर बाँच्नै मुस्किल पर्ने भो,’ ठाकुरले दुखेसो सुनाए।

उता विद्युत कम्पनीले पनि लाइन काट्दिने गरेको उनीहरुको भनाइ छ।

‘मिटरवाला आउँछ, बेला–बेला लाइन काटदिन्छ। तर, हामीहरु सबैले खुट्टा ढोगेपछि उसले मानवताको हिसावले लाइन लगाइदिन्छ। धेरै पटक भइसक्यो, अब त लाइनवालाले पनि सुन्नेवाला छैन,’ ठाकुरले भने।

उद्धारका लागि रियादस्थित नेपाली दूतावासमा पीडितले दिएको निवेदन

कामविहीन भएपछि आफूहरु घर फर्किन चाहेको तर, कम्पनीले नसुनेको पीडितको भनाइ छ। कम्पनीले समस्या समाधान गर्ने छाटकाट नदेखाएपछि उनीहरुले रियादस्थित नेपाली दूतावासमा समेत उजुरी दिएका छन्।

१० दिनभित्र केही न केही समाधान निकाल्छौं : म्यानपावर

उनीहरुलाई साउदी पठाउने कम्पनीले भने समस्याबारे आफू जानकार रहेको बताउँदै १० दिनभित्र समाधान निकाल्ने बताएको छ। प्रवास खबरसँगको कुराकानीमा ओसो रिक्युटिङ एजेन्सीकी प्रशासन प्रमुख सविना लामाले यो समस्या समाधानको लागि कम्पनीका निर्देशक लक्ष्मण विश्व आफै साउदी जान लागेको बताइन्।

‘पहिला यो कम्पनी राम्रो थियो। हामीले झण्डै ४ सय नेपालीलाई त्यहाँ पठाएका छौं। यसअघि कम्पनी राम्रै भएकोले यत्ति धेरै मान्छे पठाएका हौँ,’ लामाले भनिन्, ‘तर, पछि कम्पनी आफै समस्यामा फसेको भन्ने कुरा छ। त्यसैले यस्तो अवस्था आएको हो। तर, पनि हामीले पठाएका श्रमिकको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर कम्पनीसँग पहल गरिरहेका छौँ।’

लामाका अनुसार उक्त कम्पनीमा उनीहरु ७ जना मात्र नभइ अरु धेरै नेपालीको पनि उस्तै समस्या छ।

‘त्यो कम्पनीका धेरै वटा साइटहरु थिए। कतिपय नेपाली विदामा आएपछि जानुभएको छैन। उता भएकाहरुको समस्या छ। त्यो समस्या सल्टाउन हाम्रो सर आफै जाँदै हुनुहुन्छ। कम्पनीसँग समन्वय गरेर १० दिनभित्र केही समाधान खोज्छौँ,’ उनले भनिन्।