आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन एनआरएनएमा आन्तरिक लेखापरीक्षण समिति

आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन एनआरएनएमा आन्तरिक लेखापरीक्षण समिति

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आन्तरिक लेखापरीक्षण समिति गठन गरेको छ। संघको आर्थिक हिसाब–किताब व्यवस्थित र पारदर्शी बनाउन ५ सदस्यीय आन्तरिक लेखापरीक्षक समिति गठन गरिएको कोषाध्यक्ष सुनील साहले प्रवास खबरलाई जानकारी दिए।

उनका अनुसार लेखापरीक्षण समितिमा संयोजकको जिम्मेवारी इन्दिरा लामालाई दिइएको छ। नेदरल्याण्ड निवासी लामासँग अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ।

यस्तै सदस्यमहरुमा नवीन कुमार (अमेरिका), गोपाल सिम्खडा (नेपाल), रितिषा शर्मा (नेपाल) र अनुप श्रेष्ठ (नेपाल) रहेका छन्। नवीन कुमार आर्थिक व्यस्थापनमा विज्ञ हुन भने सिम्खडासँग लेखा तथा लेखापरीक्षणमा अनुभव छ।

यस्तै शर्माले गैर–सरकारी संस्थाा लेखा प्रणाली तथा लेखापरीक्षणमा विज्ञता हासिल गरेकी छिन् भने श्रेष्ठ पनि लेखा प्रणाली र लेखापरीक्षणमा अनुभवी हुन्।

कोषाध्यक्ष साहका अनुसार यो समितिले संघको केन्द्रीय कोष, क्षेत्रीय कोष र राष्ट्रिय समन्वय परिषद्को कोषको लेखा प्रणालीको अनुगमन, जाँच तथा सुझाव दिनेछ।

संघले हरेक तीन–तीन महिनामा सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्दै आएको छ, जुन सर्वसाधारणले सजिलै वेभसाइटमार्फत हेर्न सक्छन्।

यस्तै संघले आन्तरिक लेखापरीक्षणको लागि बीआर एण्ड न्यौपाने एसोसियट्सलाई छनोट गरेको छ। कोर्टेशनका आधारमा उक्त कम्पनीलाई छनोट गरिएको साहले जानकारी दिए।