न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको ज्यान गयो

न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचार अनुसार यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते भएका छन् ।

अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सुपरमार्केटमा प्रवेश गरी गोली चलाएका थिए । सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ ।