अर्घाखाँचीमा ‘खानेपानीका मुहान बचाऊँ, प्राण बचाउँ’ अभियान 

अर्घाखाँचीमा ‘खानेपानीका मुहान बचाऊँ, प्राण बचाउँ’ अभियान 

सन्धिखर्क । भूमिकास्थान नगरपालिकामा ‘खानेपानीका मुहान बचाऊँ, प्राण बचाउँ’ अभियानका अभियन्ताहरुले चुनाव नजिकिँदै गर्दा भावी अभिभावक (वडा अध्यक्ष र मेयर) लाई ध्यानाकर्षण गराएका छन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष भोजराज खनाल हुँदै नगरपालिकाका निवर्तमान मेयर रेशम थापासम्म पुगेको सो निवेदन २०७१ साल जेठमा पेश गरिएको थियो। अहिलेको स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा सो निवेदन पेश गरेको तीन वर्ष पुग्नेछ।

भूमिकास्थान १ र २ का करिव ५ सय जना युवाहरूको हस्ताक्षरसहितको निवेदन बुझ्ने क्रममा निवर्तमान वडाअध्यक्ष भोजराज खनालले आफूहरुलाई एकदमै सकारात्मक प्रतिक्रिया दिएको अभियन्ता लालमणि खनाल बताउँछन्। खनालले नै यो अभियानको थालनी गरेका थिए।

त्यसो त निवर्तमान वडाध्यक्षले अभियानलाई सकारात्मक रुपमा लिने मात्र नभई त्यसलाई नगरपालिकाव्यापी बनाउने उद्देश्यले नगरपालिकाबाटै स्वीकृति गराउनका लागि मेयर रेशम थापासमक्ष पेश गरेको बताउँछन्।

यसविषयमा भूमिकास्थान नगरपालिकाका योजना अधिकृत हरिश्चन्द्र भुसालले समेत सो अभियानलाई योजना अन्तर्गत समेट्ने विश्वास दिलाएका थिए।

‘चुनावको मुखमा आएर यस विषयमा किन मिडियामा आउनु भयो ?भन्ने प्रश्नमा अभियन्ता लालमणी खनालले यो कुनै व्यक्तिगत लाभको विषय नभई समग्र वडा र नगरवासीको हितको विषय भएकोले आफूहरु लागिपरेको बताए। चुनावको नतिजा आएपछि जसले जितेपनि (वडा, नगर) हाम्रो अभिभावक हुने र भावी योजनामा प्रमुख प्राथमिकतामा परोस् भन्ने उद्देश्यले ध्यानाकर्षण गरिएको उनको भनाइ छ।

यस अभियानले आम मानिसको चासो बटुलेको र यसलाई भावी विजयी उम्मेदवारहरुले प्राथमिकतामा राख्नेमा आफूहरु विश्वस्त रहेको हस्ताक्षरकर्ता मध्येका एक कृष्णप्रसाद खनालले बताए।

त्यस्तै, यस अभियानमा उठान गरिएको विषय एकदमै दुरगामी महत्वको विषय भएको गोपाल पी.खनाल बताउँछन्।



No ads found for this position