यसपालि पनि भूमिकास्थान–१ मा ‘क्लिन स्वीप’ गर्ने राष्ट्रिय जनमोर्चाको दावी

यसपालि पनि भूमिकास्थान–१ मा ‘क्लिन स्वीप’ गर्ने राष्ट्रिय जनमोर्चाको दावी

अन्यत्र जस्तै अर्घाखाँचीको भूमिकास्थान –१ मा पनि स्थानीय तहको चुनावी सरगर्मी बढेको छ। केन्द्रीय निर्देशनअनुसार भूमिकास्थान नगरपालिकामा गठबन्धन भएपनि वडास्तरमा भने त्यो कायम हुन सकेन। राष्ट्रिय जनमोर्चा, नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) ले आ–आफ्नो दावी प्रस्तुत गरेपछि गठबन्धनमा सहमति कठिन भयो।

भागबण्डा नमिलेपछि वडास्तरमा मैत्रीपूर्ण रुपमा एकल प्रतिस्पर्धा गर्ने गठबन्धनसम्बद्ध दलले निर्णय गरे। तर, अन्तिममा गठबन्धनको निर्णयविपरित नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) ले भने यहाँ छुट्टै प्यानल बनाएका छन्।

जनमोर्चा एकल रुपमा चुनावी मैदानमा होमिएको छ भने नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) को संयुक्त प्यानल छ। संयुक्त प्यानलबाट वडा अध्यक्षमा काँग्रेसका गोपाल खनालले उम्मेदवारी दिएका छन् भने जनमोर्चाको तर्फबाट भोजराज खनालको दावेदारी छ। भोजराज निवर्तमान वडा अध्यक्ष समेत हुन्।

यहाँ २०७४ को स्थानीय निर्वाचनमा जनमोर्चाको प्यानलले ‘क्लिन स्वीप’ गरेको थियो। त्योबेला जनमोर्चाका भोजराजले ५७२ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी माओवादीका कासिराम गमाल ५२६ भोटमै चित्त बुझाउन बाध्य भए।

हुन त यो क्षेत्र पहिला राष्ट्रिय जनमोर्चाको गढ नै मानिन्थ्यो। तर, अहिले त्यो अवस्था छैन। राष्ट्रिय जनमोर्चा परित्याग गरेर माओवादीमा प्रवेश गर्नेको नाम ‘लिष्ट’ लामै छ। यसको उदाहरण हो, अघिल्लो निर्वाचनमा गमालले मात्रै ४६ मतले पराजय भोग्नु। यस्तै पछिल्लो दिनमा जनमोर्चा परित्याग गरेर कतिपय काँग्रेस र एमालेमा समेत पुगेका छन्।

यो क्षेत्रमा एमाले कमजोर नै छ। काँग्रेसले भने पछिल्लो समय संगठन विस्तारमा केही उपलब्धी हासिल गरेको छ। जनमोर्चाले यसपटक पनि पूरै प्यानलले नै बाजी मार्ने दावी गरेको छ। अघिल्लो चुनावमा एक्लै जितेकोले यसपाली पनि जितको दावी गर्नु स्वाभाविक हो। तर, यसपटक जनमोर्चाको लागि त्यत्ति सहज भने पक्कै छैन।

प्रतिस्पर्धा पेचिलो बन्दै जाँदा जनमोर्चा र काँग्रेस–माओवादीले प्रचारका अनेकन आयाममार्फत् मतदातालाई आकर्षित गरिरहेका छन्। दुई वटा मतदान केन्द्र रहेको यो वार्डमा कुल मतदाताको संख्या २ हजार ८५५ छ।

निर्वाचन केन्द्रीत रहेर राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सदस्य तथा भूमिकास्थान–१ का अध्यक्ष मेघराज खनालसँग प्रवास खबरले कुराकानी गरेको छ। खनाललाई जनमोर्चाले यो निर्वाचनमा खुल्ला सदस्यको उम्मेदवार समेत बनाएको छ। कुराकानीको क्रममा खनालले यसपटक पनि राष्ट्रिय जनमोर्चाले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन्।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

स्थानीय चुनाव नजिकिदैं छ। तपाईं पनि राष्ट्रिय जनमोर्चाको कोटाबाट भूमिकास्थान–१ मा खुल्ला सदस्यको प्रत्यासी हुनुहुन्छ। यहाँ चुनावी माहोल कस्तो छ ?

हो, चुनावी माहोल एकदमै तातेको छ। मलाई मात्रै नभएर सबैलाई चुनाव लागेको छ। भूमिकास्थान– १ मा पनि सबै दल आ–आफ्नो प्रचार–प्रसारमा लागेका छन्। हामी (राष्ट्रिय जनमोर्चा) पनि चुनावी प्रचार–प्रसारमा लागिरहेका छौँ। घरदैलौ अभियानमा व्यस्त छौँ।

भूमिकास्थान–१ राष्ट्रिय जनमोर्चाको बाहुल्यता भएको क्षेत्र मानिन्छ। यसअघिको चुनावी नजिजा पनि जनमोर्चाकै पोल्टामा परेको थियो। अहिलेको अवस्था कस्तो छ ?

यो क्षेत्र ( भूमिकास्थान–१) मा अहिले पनि राष्ट्रिय जनमोर्चाको माहोल राम्रै छ। यो पहिलेदेखि नै राष्ट्रिय जनमोर्चाको गढ क्षेत्र हो। अहिले पनि माहाेल उत्साहजनक नै छ। यसपटक हामी अझ शसक्त भएका छौँ। यसपटकको नतिजा पनि बहुमतसहित हाम्रै (राष्ट्रिय जनमोर्चाको) पक्षमा आउँछ, यसमा ढुक्क छौँ।

यसपटकको स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चा सत्ताधारी गठबन्धनमा सामेल छ। केन्द्रीय निर्देशनअनुसार भूमिकास्थान नगरपालिकामा गठबन्धन भएपनि वडास्तरमा भने त्यो कायम हुन सकेन। गठबन्धनमा सहमति जुट्न नसकेपछि वडास्तरमा मैत्रीपूर्ण रुपमा एकल प्रतिस्पर्धा गरिने भनिएको थियो। तर, पछिल्लो पटक काँग्रेस र माओवादीले गठबन्ध बनाए। यसले त जनमोर्चालाई मुस्किल पर्ने भयो नी, होइन ?

हो, हाम्रो पार्टीले देशव्यापी रुपमै गठबन्धन गरेको थियो। केन्द्रीय सहमति अनुसार नै अर्घाखाँची जिल्लाका नगर, पाललिका तथा कतिपय वार्डमा गठबन्धन भएको छ। भूमिकास्थानको १ र ३ नम्बर वार्डमा भने सबै दलले आ–आफ्नो दावेदारी प्रस्तुत गरेपछि यहाँ गठबन्धनमा सहमति हुन सकेन। सहमति नजुटेपछि यी वार्डमा मैत्रीपूर्ण ढंगले एकल प्रतिस्पर्धा गरेर चुनावी मैदानमा होमिने भन्ने गठबन्धनले निर्णय गरेको थियो। पछिल्लो समय उहाँहरु (काँग्रेस र माओवादी) ले जसरी गठबन्धनको निर्णयविरुद्ध तालमेल गर्नुभयो, यसलाई हामीले अस्वभाविक रुपमा लिएका छौँ। तर, पनि राष्ट्रिय जनमोर्चालाई यसले खासै असर गर्दैन, राम्रै होला जस्तो छ।

चुनाव जित्ने दावी त गर्नुभयो। यदि हजुरले भनेजस्तै चुनावी परिणाम तपाईँहरुको पक्षमा आइहाल्यो भने के–छन् त योजना ? भूमिकास्थान–१ का जनताले राष्ट्रिय जनमोर्चालाई नै भोट किन हाल्ने ?

यो क्षेत्रमा अझैपनि धेरै समस्या छन्। पहिलो कुरा त, हामी भौतिक पूर्वाधारबाट धेरै पछाडी नै छौँ। यस्तै शिक्षा र कृषिको विकासका लागि धेरै कुराहरु गर्नुपर्नेछ। युवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ काम गर्नुपर्नेछ। गाउँको उत्पादनलाई बजारीकरण गर्ने विषयमा पनि हामी काम गर्नेछौं।

त्योबाहेक अहिलेको कार्यकालमा गर्न चाहेर पनि धेरै कामहरु अधुरा रहेका छन्। ती योजनाहरु यसपटक पूरा गर्नेछौँ। विशेषगरी युवा र किसानप्रति आर्कषक कार्यक्रम ल्याउने त राष्ट्रिय जनमोर्चाको मुख्य योजना नै हो।

अर्काे कुरा, राष्ट्रिय जनमोर्चाले अहिलेसम्म जनताले थाहा पाउनेगरी त्यस्तो कुनै भष्ट्रचार गरेको छैन। हामीले यसअघि चुनाव जितेका क्षेत्रहरुमा पारर्दशी ढंगले काम गरेका छौँ। विगतको समिक्षा गरेर पनि यसपटक जनताले राष्ट्रिय जनमोर्चालाई भोट हाल्छन्।

यसै सन्दर्भमा एउटा प्रशंग जोडौं, सत्ताधारी दलसँग गठबन्धन गरेपनि केही राष्ट्रिय विषयमा भने राष्ट्रिय जनमोर्चाको फरक मत छ। जस्तै एमसीसीमा पनि तपाईंको पार्टी पृथक रुपमा उभिएको भनिन्छ। यसलाई कसरी हेर्नुहुन्छ ?

एमसीसी मात्रै नभएर गठबन्धन दलहरुसँग हाम्रा धेरै कुरामा मतभेद छन्। तर, पनि देशलाई प्रतिगमनतर्फ लैजान केपी ओलीको सरकारले जनताको म्यान्डेटलाई दुई–दुई पटक कुल्चन खोज्यो। देशलाई विकारल अवस्थामा लैजान नदिन धेरै कुरामा मतभेद हुँदा–हुँदै पनि सत्ताधारी दलसँग गठबन्धन गर्नुपरेको हो। यद्यपि संघियता, एमसीसीलगायतका मुद्धामा हाम्रो मतभेद कायमै छ।