अमेरिका विवाद : सुवेदी नेतृत्वकाे समितिलाई बर्खास्त गर्नुको कारणसहितको प्रतिवेदन बुझाइयो

अमेरिका विवाद : सुवेदी नेतृत्वकाे समितिलाई बर्खास्त गर्नुको कारणसहितको प्रतिवेदन बुझाइयो

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) अमेरिकाको निर्वाचित कार्यसमिति विघटन गर्नुपरेको कारणसहितको प्रतिवेदन आइसीसीमा पठाइएको छ।

बुद्धिसागर सुवेदीको नेतृत्वमा रहेको निर्वाचित कार्यसमितिलाई आइसीसीको तर्फबाट अमेरिकाज क्षेत्रीय समितिका संयोजक प्रकाश सापकोटा, उप–संयोजक अभिमन्यु बस्नेत, पशुपति पाण्डे र पुरुषोत्तम बोहराले २४ अप्रिलमा विघटन गरेका थिए। सुवेदीको कार्यसमितिलाई विघटन मात्रै गरिएन, तुरुन्तै कृष्ण लामिछानेको नेतृत्वमा तर्दथ समिति बनाइएको घोषणा गरियो।

सुवेदी नेतृत्वको कार्यसमितिलाई सदस्यता शुल्क केन्द्रमा नपठाएको, आइसीसीको निर्देशन विपरित गतिविधि गरेको आरोपमा विघटन गरिएको थियो। त्यसयता अमेरिका एनसीसीको विवाद चरम उत्कर्षमा पुगेको छ। अहिले त्यहाँ दुवै पक्षले एनआरएनएको नाममा गतिविधि सञ्चालन गरिरहेका छन्। यो विवादले एनसीसी अमेरिका ध्रुवीकृत मात्र भएको छैन, यसको असर आइसीसीसम्म पुगेको छ।

अमेरिकाको विवादले उग्ररुप लिएपछि आइसीसीको बैठकले केन्द्रीय अध्यक्ष रवीना थापालाई त्यहाँको समस्या सल्ट्याउन जिम्मेवारी दिएको थियो। अमेरिका निवासी समेत भएकोले उक्त विवाद समाधान गर्न थापालाई जिम्मा दिइएको थियो।

जिम्मेवारी पाएलगत्तै थापाले अमेरिका क्षेत्रबाट प्रतिनिधत्व गर्ने आइसीसीका पदाधिकारीसँग ‘एनसीसी अमेरिकामा देखिएको विवादलाई के–कसरी समाधान गर्न सकिन्छ?’ भनेर छलफल गरेकी थिइन्।

अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटा र राम सी पोखरेलको संयोजकत्वमा उप–संयोजकहरु अभिमन्यु बस्नेत, पशुपति पाण्डे, पुरुषोत्तम बोहरा र रामकुमार सुवेदी तथा आइसीसीका सचिवहरु प्रमोद सिटौला, शंकर खड्का र चिरनजीवी घिमिरे रहनेगरी थापाले एक समिति समेत बनाएकी थिइन्। उनले त्यो समितिलाई विवाद कसरी समाधान गर्न सकिन्छ भन्ने सुझावसहित प्रतिवेदन पेश गर्न आग्रह गरेकी थिइन्। थापाको आग्रह बमोजिमम ३ मेमा उक्त समितिको बैठक बसेको थियो।

उक्त समितिले ६ मेमा थापालाई प्रतिवेदन बुझाएको छ। प्रवास खबरलाई प्राप्त उक्त प्रतिवेदनमा सुवेदी नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्नुपरेको कारण खुलाइएको छ। प्रतिवेदनमा आइसीसीले कृष्ण लामिछाने नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिइनुपर्ने उल्लेख छ। ७ जनामध्ये ५ जनाले मात्र प्रतिवेदनमा हस्ताक्षर गरेका छन्। क्षेत्रीय संयजोक राम सी पोखरेल र उपसंयोजक रामकुमार सुवेदीले भने निर्वाचित कार्यसमितिलाई बर्खास्त गरेर लामिछानेको नयाँ समितिलाई वैधानिकता दिन नसकिने भन्दै प्रतिवेदनमा हस्ताक्षर गरेका छैनन्।

अब के हुन्छ ? भन्ने विषयमा बुझ्न प्रवास खबरले अध्यक्ष थापालाई सम्पर्क गर्ने प्रयास गरेपनि कुराकानी भने हुन सकेन।

यस्तो छ प्रतिवेदन