यूएईमा लुटपाटमा संलग्न ६ जनालाई जेल सजाय

यूएईमा लुटपाटमा संलग्न ६ जनालाई जेल सजाय सांकेतीक तस्वीर

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा लुटपाटका घटनामा एसियाली मुलका ६ जना व्यक्ति दोषी ठहरिएका छन्।

दुबईको फौजदारी अदालतले उनीहरुलाई मनी एक्सचेन्जका मालिक र उनका साथीलाई आक्रमण गरि लुटपाट गरेको अभियोगमा दोषी ठहर गरेको हो।

उनीहरुलाई सीआइडी अफिसरको नक्कल गर्ने, ३ लाख ६५ हजार दिराम, सुनको मुर्ति, फोन र बैंक कार्ड चोरी गरेको आरोपमा दोषी ठहर गरिएको छ। अदालतमा उपस्थित ४ जना र अनुपस्थित २ जना गरी ६ जना अभियुक्तलाई नै २ वर्षको कैद सजाय सुनाइएको छ।

पक्राउ गर्दा प्रतिकार गर्ने, प्रहरीमाथि हातपात गर्ने र दुबई प्रहरीको सम्पत्ति नष्ट गर्ने गरेको अभियोगमा ती मध्येका दुई जनालाई अदालतले थप ६ महिना कैदसजाय र ९ सय दिराम जरिवानाको फैसला गरेको छ।

प्रहरी अनुसन्धानका अनुसार अल रफा सेन्टरबाट गस्तीमा रहेको टोलीलाई एक मनी एक्सचेन्ज कम्पनीमा डकैती भएको उजुरी प्राप्त भएको थियो। त्यसलगत्तै टोली घटनास्थलमा पुगेपछि पीडितले अधिकारीहरुसमक्ष घटनाको विस्तृत विवरण बताएका थिए।

कन्दुरा (इमिराती परम्परागत पोशाक) लगाएका दुईजना व्यक्ति आफ्नो कम्पनीको हेडक्वाटरमा आइ आफूहरु सीआइडीबाट आएको बहाना गरेको ती पीडितले जानकारी दिएका थिए।

सो नक्कल गर्ने अभियुक्तहरूले पीडितलाई आर्थिक उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए। तीमध्ये एकले कम्पनीको ढोका बन्द गरेको थियो। त्यस्तै, दोस्रोले फोन खोसेर उनी र उनका साथीमाथि आक्रमण गरेको थियो।

अफिसमा खोजी गर्ने क्रममा एकजनाले सेफको चाबी फेला पारेको थियो। त्यसपछि उक्त सेफ खोलेर ३ लाख ६५ हजार दिराम, सुनको मुर्ति र सुन चाँदीका सिक्का लगेका थिए । उनीहरुले उनका साथीको पैसा र बैंकका कार्ड समेत चोरेर फरार भएका थिए।

प्रहरीले घटनास्थलमा रहेको सिसी क्यामेराबाट ती दुईजना संदिग्धलाई पहिचान गरेको थियो । थप दुई जना दुईवटा गाडीमा पर्खिरहेका थिए। ती दुई गाडीमध्ये एउटा गाडी घटनास्थलबाट गिरोहका सदस्यहरूलाई ओसारपसार गर्न उनीहरूले भाडामा लिएका थिए।

१७ हजार दिरामसहित एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। उनले आफ्नो अपराध स्वीकार गर्दै उक्त पैसा आफ्नो भागमा बाँड्दा परेको हिस्सा भएको बताएका थिए। आफूले अन्य पाँच जनाको सहयोगमा डकैतीको योजना बनाएको पनि उनले स्वीकार गरेका छन्। त्यसपछि उनले प्रहरीलाई आफ्ना सहयोगीहरूको ठाउँमा लगेका थिए।

प्रहरीले पक्राउ गर्ने क्रममा दुईजना संदिग्धहरूले पक्राउको प्रतिकार गरेका थिए र प्रहरी अधिकारीहरूलाई कुटपिट समेत गरेका थिए। उनीहरुले स्टेसनमा रहेको प्रहरी सम्पति समेत तोडफोड गरेको बताइएको छ।

प्रहरीले अन्य दुई जना अभियुक्तको खोजीकार्य सुरु गरेको बताइएको छ।