कतारमा आप्रवासी श्रमिकले आफ्नो कामप्रति गर्व महसुस गर्छन् : फिफा
दोहा । कतारमा रहेका आप्रवासी श्रमिकहरुले आफ्नो कामप्रति गर्व महसुस गरेको फिफाले दावी गरेको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारमा कार्यरत आप्रवासी श्रमिकले आफ्नो कडा परिश्रममा गर्व गर्ने बताएका हुन्।
‘जब तपाइँ कठिन परिस्थितिमा पनि कसैलाई काम दिनुहुन्छ भने, तपाइँले त्यो व्यक्तिलाई सम्मान र गर्व दिनुहोस्,’ इन्फान्टिनोले भनेका छन्।
अमेरिकी सञ्चारमाध्यमलाई एक प्रेस विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार फिफा अध्यक्षले कतारले न्यूनतम पारिश्रमिकको शुरुवात र श्रमिकको अधिकारको प्रवर्द्धनलगायत श्रम कानूनमा गरेका परिमार्जन र सुधारको प्रशंसा गरेका छन्।
अमेरिका आप्रवासीको देश भएको र आफ्ना आमाबुबा पनि इटालीबाट स्विट्जरल्याण्ड बसाइँ सरेको प्रशंग बताउँदै इन्फान्टिनोले श्रमिकले कठिन परिस्थितिमा पनि कडा परिश्रम गर्ने भएको हुनाले उनीहरुलाई पारिश्रमिकको साथमा इज्जत र सम्मान दिनुपर्ने कुरा औंल्याएका छन्।
उनले विश्व कप स्टेडियममा कार्यरत १५ लाख श्रमिकको अवस्था परिवर्तन गर्न सक्षम भएमा त्यो आफूहरुको लागि गर्वको विषय हुने समेत बताएका छन्।