शेष घले समूहको छुट्टै कार्यालय, राजेश राणालाई सिईओको जिम्मेवारी

अध्यक्ष कुँवर भन्छन्– यसलाई सकरात्मक रुपले लिनुपर्छ

शेष घले समूहको छुट्टै कार्यालय, राजेश राणालाई सिईओको जिम्मेवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेसम्वद्ध समूहले छुट्टै कार्यालय खोलेको छ।

काठमाडौंको वालुवाटारमा खोलिएको कार्यालयको घले दम्पत्तीले सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन्। घले र उनकी श्रीमती जमुनाले पूजा–आजा गरेर कार्यालयको उद्घाटन गरेका हुन्।

संस्थापन पक्षसँग असन्तुष्टी जनाउँदै घलेले सानो समूह लिएर छुट्टै एनआरएनए गठन गरेका थिए। एनआरएनएकै नाममा समानान्तर गतिविधि सञ्चालन गरेपनि घलेले गठन गरेको उक्त समितिलाई सरकारले मान्यता दिएको छैन। घलेले कोरिया निवासी विनोद कुवँरलाई अध्यक्ष बनाएका छन्।

कार्यालयको लागि वालुवाटारमा एउटा घर पूरै भाडामा लिइएको अध्यक्ष कुवँरले प्रवास खबरलाई बताए। सचिवालयमा कर्मचारी पनि राखिएको उनले जानकारी दिए। जसमा, कार्यकारी निर्देशक (सिईओ) को जिम्मेवारी राजेश राणालाई दिइएको कुवँरले बताए। राणा बैशाख १ गतेदेखि संघको वालुवाटारस्थित सचिवालयबाट अवकाश लिएका थिए। राणा घलेका विश्वास पात्र हुन्।

‘उहाँ (राणा) सँग अनुभव छ। त्यसैले उहाँलाई प्रमुख बनाइएको हो। कर्मचारीको नेतृत्व उहाँले गर्नुहुन्छ। अब सबै अप्रेशन त्यहीँबाट हुन्छ,’ कोरियाबाट कुँवरले प्रवास खबरसँग भने।

कार्यालय राख्न आफूहरुले वालुवाटारस्थित सचिवालयमा ठाउँको माग गरेको तर, नपाएपछि छुट्टै कार्यालय खोल्नुपर्ने बाध्यता आइपरेको कुवँरको भनाइ छ।

‘त्यो सचिवालयमा हाम्रो पनि अधिकार रहन्छ। किनभने त्यहाँ हामी सबैको लगानी परेको छ। हामीले हाम्रो कार्यालय पनि त्यहीँ राख्न पाउनुपर्छ भनेर माग गरेका थियौँ। मैले इमेल पठाएको थिएँ,’ कुवँरले भने, ‘केही जवाफ नआएपछि हामीले छुट्टै खोलेका हौँ। यसलाई सकारात्मक रुपले लिनुपर्छ।’

आफूहरु मिल्ने सवालमा सकारात्मक भएको पनि उनले बताए। एनआरएनएलाई एक ढिक्का बनाउन आफू वार्तामा बस्न तयार रहेको कुवँरको भनाइ छ। ‘अहिले मतभेद छन्। जे–जस्तो भएपनि हामी मिल्नुपर्छ भन्ने नै चाहान्छौँ। विधानबमोजिम सबै कुराहरुलाई मिलाउनुपर्छ,’ उनले भने।