धिरजप्रताप सिंह नेपाल प्रहरीको नयाँ आइजीपी
काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सिंहलाई आइजीपीमा नियुक्त गरेको हो। डेढ वर्षअघि बढुवा भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई नियुक्त गरिएको हो।
वरीयता क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्री देउवाको दबाबमा आइजीपी नियुक्त गरिएको हो। गृह मन्त्रायले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आइजीपीका लागि सिफारिस गरेको थियो। तर, मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त गरेको हो।
प्रधानमन्त्री देउवाको रूची र चाहनाअनुसार नै सुदूरपश्चिम प्रदेश घर भएका सिंहलाई सिंहलाई आईजीपी नियुक्त गरिएको हो। पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच वरीयता क्रम अनुसार नै नियुक्त गर्न सरकारलाई सुझाव दिइएको थियो।
मन्त्रिपरिषद् बैठक बस्नुअघि सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बसेको थियो। बैठकमा आइजीपी नियुक्तिको विषयमा छलफल भएको थियो। छलफलको क्रममा वरीयताक्रम अनुसार पोखरेललाई नै नेपाल प्रहरीको आईजीपीमा नियुक्त गर्न सुझाव दिइएको थियो। परामर्शका लागि गठबन्धनका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका थिए।
दुई महानिरीक्षकसहित १८ वैशाख २०४९ बाट सेवा प्रवेश गरेका सबै उच्च अधिकारीले आइतबार एकैपटक अनिवार्य अवकाश पाएका छन्। गठबन्धनमा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरेललाई नै आइजीपी बनाउनुपर्ने अडान लिएका थिए।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई नै आइजीपी बनाउने अडानमा दिए । जसले गर्दा बिहान ११ बजेलाई बोलाइएको मन्त्रिपरिषद् बैठक बस्न ढिलाइ भएको थियो।