टर्कीमा नेपालीलाई बन्धक बनाएर पाकिस्तानी अपहरणकारीले मागे फिरौती (भिडियोसहित)

टर्कीमा नेपालीलाई बन्धक बनाएर पाकिस्तानी अपहरणकारीले मागे फिरौती (भिडियोसहित)

काठमाडौं। टर्कीमा पाकिस्तानी अपहरणकारीले ४ नेपालीलाई बन्धक बनाएर फिरौती मागेका छन्।

टर्कीको ताक्सिम स्क्वायरबाट ६ पाकिस्तानी अपहरणकारीले ४ नेपालीलाई अपहरण गरेका हुन्। डीएचएलाई उद्यृत गर्दै बीबीसी टर्किसले जनाएअनुसार पर्यटक भिसामा रहेका ४ नेपाली अपहरणमा परेका हुन्। तीमध्ये २ पुरुष र २ महिला छन्।

समाचारमा जनाइएअनुसार ती नेपालीलाई अपहरणकारीले तीन दिनसम्म घरमै थुनेर राखेका थिए। अपहरणकारीले उनीहरुमाथि बन्दुक सोझाउँदै नेपालमा रहेका परिवारसँग १०-१० हजार युरो फिरौती मागेका थिए।

परिवारले भने फिरौती रकमको तयारी गरेर टर्कीस प्रहरीलाई पनि खबर गरेका थिए।

बेयोगल जिल्ला प्रहरी विभागको टोलीले यो सूचना पाएपछि फिरौती रकम बुझाउने क्रममा एक अपहरणकारीलाई पक्राउ गरेको थियो।अपहरणकारीकै सूचनाको आधारमा टर्की प्रहरीले घरमा अपरेशन गरेको थियो। प्रहरी टोलीले नेपालीलाई बन्धक बनाएको अवस्थामा फेला पारेका थियो।

अपरेशनको क्रममा प्रहरीले बन्धक बनाएर नेपालीलाई राखिएको घरबाट बन्दुकसहित धारिलो हतियारहरु बरामद गरेको थियो।

भिडियो श्रोत : ShowAnaHaber