साउदीद्धारा साढे ११ हजार बढी विदेशीलाई देश निकाला

साउदीद्धारा साढे ११ हजार बढी विदेशीलाई देश निकाला Photo credit : SPA

रियाद।  साउदी अरबको गृह मन्त्रालयले ११ हजारभन्दा बढी विदेशलाई देश निकाला गरेको छ। साउदीले आवासीय कानून, श्रमकानून र सीमा सुरक्षाका नियमको उल्घंन गरेका ११ हजार ६४७ आप्रवासीलाई देश निकाला गरेको हो।

गत १४ अप्रिलदेखि २० सम्मको अवधिमा साउदी सुरक्षा निकायका विभिन्न इकाइ र राहदानी महानिर्देशनालयले संयुक्त रुपमा फिल्ड अप्रेशन चलाएका थिए। सो अप्रेशनका क्रममा १३ हजार ६१५ पक्राउ परेका थिए।

तीमध्ये आवासीय कानून उल्लघंन गर्ने ८ हजार ७५२ र सीमा सुरक्षा नियम उल्लघंन गर्ने ३ हजार १९७ थिए। त्यस्तै, १ हजार ६६६ जनाले श्रम कानूनको उल्लंघन गरेका थिए।

सीमा पार गर्न खोज्दा १०६ जना पक्राउ परेका थिए। जसमध्ये ४७ प्रतिशत यमनी, ४८ प्रतिशत इथियोपियाली र ५ प्रतिशत अन्य राष्ट्रका थिए।

त्यसैगरी ४९ जना साउदीको सीमा पार गरेर अन्य देशमा भाग्न खोज्दा पक्राउ परेका थिए। । यसैगरी सीमा पार गर्न सहयोग गर्ने र आश्रय दिने १३ जनालाई समेत सुरक्षा बलले पक्राउ गरेको थियो।

हालसम्म यी कानूनको उल्लङ्घन गर्नेकाे कुल संख्या ९० हजार ७ ५६ रहेको बताइएको छ। जसमध्ये ८६ हजार ४१३ पुरुष र ४ हजार ३४३ महिला हुन्।

यीमध्ये ७९ हजार ७८ जनालाई देश निकाला गर्ने उद्देश्यले ‘ट्राभल डकुमेण्ट’ बनाउनका लागि उनीहरूको कूटनीतिक नियोगमा पठाइएको बताइएको छ।

यी नियमको उल्लघंन गर्नेहरुलाई सहयोग नगर्न गृह मन्त्रालयले चेतावनी समेत दिएको छ। सीमा सुरक्षा नियमको उल्लघंनलाई सहजीकरण गर्ने, यातायात, आश्रय वा कुनै किसिमले सहयोग वा सेवा प्रदान गरेको पाइएमा त्यस्ता व्यक्तिलाई १५ वर्षसम्मको जेलसजाय हुने बताइएको छ। यस्तै १० लाख साउदी रियाल जरिवाना गरिने गृह मन्त्रालयको चेतावनी छ।

यस्तै सहयोग गर्ने क्रममा प्रयोग गरिएका यातायातका साधन, र आश्रयको लागि प्रयोग गरिएको निवास समेत जफत गरिने बताइएको छ। त्यसका अतिरिक्त स्थानीय मिडियामा उनीहरूको नाम समेत सार्वजनिक गरिने छ।