रियादस्थित नेपाली दूतावासमा सुरक्षा ‘लापरबाही’, सेल्टरबाट बेपत्ता भएका साह अझै भेटिएनन्

रियादस्थित नेपाली दूतावासमा सुरक्षा ‘लापरबाही’, सेल्टरबाट बेपत्ता भएका साह अझै भेटिएनन्

काठमाडौं। साउदीको रियादस्थित नेपाली दूतावासको सेल्टरबाट बेपत्ता भएका सन्तोष साह कानु हालसम्म पनि फेला परेका छैनन्।

साह गत १९ अप्रिल रातिको साढे ९ बजेदेखि बेपत्ता छन्। साह रियादको बथा भन्ने ठाउँमा नेपाली दूतावासले नै व्यवस्थापन गरेको सेल्टरमा थिए।

‘उहाँ कहाँ हुनुहुन्छ अझै पत्ता लागेको छैन। हामी खोजी गरिरहेका छौँ। यहाँ सबै प्रहरी कार्यालयहरुमा पनि खबर गरिसकेका छौँ,’ रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत समेत रहेका उपनियोग प्रमुख दिलिप पौडेलले प्रवास खबरसँग भने।

दूतावासका अनुसार साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि बोल्दैन्थे। उद्धार गरेर दूतावासको सेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला साह हराएको दूतावासको भनाइ छ। राति सेल्टरमा सबै सुतिरहेको मौकामा उनी भागेको हुनसक्ने दूतावासको आशंका छ।

दूतावासका अनुसार साहको नेपाल फर्किन एक्जिट भिसा पनि आइसकेको थियो। बेपत्ता भएपछि दूतावासले २१ अप्रिलमा सूचना जारी गरेर साहको खोजी सुरु गरेको थियो। दूतावासले साहको फोटो सार्वजानिक गर्दै कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको थियो। तर, उनी अहिलेसम्म फेला परेका छैनन्।

उपनियोग प्रमुख पौडेलले पनि साहको मानसिक सन्तुलन त्यत्ति ठिक नभएको बताए। यता सेल्टरबाट मान्छे हराएको भन्दै साउदीमा रहेका कतिपय नेपालीले दूतावासको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठाएका छन् । उनीहरुले सेल्टरबाटै मान्छै हराउनु दुर्भाग्यपूर्ण रहेको भन्दै दूतावासको आलोचना गरेका छन्।

उपनियोग प्रमुख पौडेलले पनि सेल्टरमा कुनै सुरक्षा व्यवस्था नभएको बताए। ‘सेल्टर भन्नाले यो भोलियन्टर ठाउँ हो । यहाँ सुरक्षा गार्डको व्यवस्था त्यस्तो केही थिएन,’ पौडेलले भने।



No ads found for this position