एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीलाई पदमुक्त गर्ने तयारी, लामिछानेलाई नयाँ अध्यक्ष बनाइँदै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीलाई पदमुक्त गर्ने तयारी भएको छ।
प्रवास खबरलाई अमेरिकाबाट प्राप्त विशेष सूचना अनुसार सुवेदीलाई बर्खास्त गरेर कृष्ण लामिछानेलाई नयाँ अध्यक्ष बनाउन लागिएको हो।
सुवेदीलाई आइसीसीको निणर्य अटेर गरेको, विधानबमोजिम काम नगरेको, सदस्यको सदस्यता शुल्क केन्द्रमा नपठाएको, एनसीसी अमेरिकालाई फुटाउन भूमिका खेलेकोलगायतका आरोपमा पदमुक्त गर्न लागिएको बताइएको छ।
‘सुवेदी जीले संस्थालाई चलाउन नसकेको प्रस्ट भइसकेको छ। आइसीसीलाई विवादित बनाउन उहाँको भूमिका छ,’ अमेरिकाबाट एक आइसीसी पदाधिकारीले प्रवास खबरसँग भने, ‘उहाँलाई पदमुक्त गरेर नयाँ नेतृत्व चयन गर्ने सवालमा यहाँका (अमेरिका) सबै साथीहरु सहमत हुनुहुन्छ। बैठक चलिरहेकाे छ। भोलिसम्म नयाँ नेतृत्व आउँछ।’ लामिछाने सुवेदीसँगै अध्यक्षमा पराजित भएका उम्मेदवार हुन्।
सुवेदीले भने बैठकमा अब आफू सुध्रिने भन्दै पदमुक्त नर्गन आग्रह गरिरहेको बताइएको छ। विगतका सबै कुरालाई विर्सिएर आफूलाई सहयोग गर्न कार्यसमितिका पदाधिकारी तथा आइसीसीका प्रतिनिधिलाई सुवेदीले अनुरोध गरिरहेका छन्।
यो विवाद मिलाउन संघका उपाध्यक्ष महेश श्रेष्ठले समेत अमेरिकाका प्रतिनिधिहरुसँग बैठक गरेका थिए।
ताजा अपडेट
