घले पक्षधरको कार्यक्रममा आचार्य सहभागी !

घले पक्षधरको कार्यक्रममा आचार्य सहभागी !

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष कुल आचार्यमाथि संस्थागत मर्यादालाई धज्जी उडाएको आरोप लागेको छ।

पूर्व अध्यक्ष शेष घलेले गठन गरेको समान्तर एनसीसी कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष नै सहभागी भएको भन्दै आचार्यको आलोचना भएको हो।

संस्थापन पक्षसँग असन्तुष्टी जनाउँदै पूर्व अध्यक्ष घलेले सानो समूह लिएर एनआरएनए चोइट्याएका थिए। एनआरएनएकै नाममा समान्तर गतिविधि सञ्चालन गरेपनि घलेले गठन गरेको उक्त समितिलाई सरकारले मान्यता दिएको छैन।

सोही समूहले अनिता गुरुङको नेतृत्वमा जापानमा छुट्टै एनसीसी गठन गरेको छ। उक्त समितिले आइतबार बालबालिकाको मनभावना र प्रतिभालाई सम्मान गर्न भन्दै बाल वक्तित्वकला आयोजना गरेको थियो। उक्त कार्यक्रममा आचार्यसहित संघका अन्य पदाधिकारीलाई अतिथिका रुपमा निम्तो गरिएको थियो। कार्यक्रममा आचार्य सहभागी भएपछि संघका पदाधिकारी आक्रोशित भएका छन्।

‘यो कार्यक्रममा अध्यक्ष कुल आचार्य ज्यु पनि जानु भएको रहेछ। कस्तो लाजमर्दाे ! , १० मिनेट जति बस्नु भयो रे,’ एनआरएनए एसिया प्यासिफिक क्षेत्रका एक उच्च पदाधिकारी भन्छन्, ‘उहाँलाई त कारवाही गर्नुपर्‍यो।’ अतिथिका रुपमा सहभागी भएपनि आचार्यले कार्यक्रममा सम्बोधन गरे गरेनन् भन्ने खुलेको छैन।

यसैविषयमा एनआरएनए आइसीसीका एक वरिष्ठ पदाधिकारी भन्छन्, ‘मैले पनि उहाँ (अध्यक्ष आचार्य) सहभागी हुनुभयो भन्ने सुनेको हुँ। यो गम्भिर विषय हो। यस्तै पारा हो भने संसारभर समान्तर एनसीसी गठन हुन्छन्।’

कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै आचार्य विवादित र आलोचित बनिरहेका छन्। केहीदिन अघि उनले बेलायती प्रधानमन्त्रीलाई नेपाल भम्रणको निम्तो पठाएका थिए। हचुवाको भरमा निम्तो पठाएको भन्दै चौतर्फी विरोध भएपछि उनले शनिवार बेलुकाको पदाधिकारी बैठकमा माफी मागेका थिए।