हचुवाको भरमा बेलायती प्रधानमन्त्रीलाई नेपाल बोलाउने एनआरएनए अध्यक्षले माफी मागे

हचुवाको भरमा बेलायती प्रधानमन्त्रीलाई नेपाल बोलाउने एनआरएनए अध्यक्षले माफी मागे

काठमाडौं। बेलायती प्रधानमन्त्रीलाई हचुवाको भरमा नेपाल भम्रणको निम्तो पठाएको भन्दै तीव्र आलोचना भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले माफी मागेका छन्।

संस्थागत मर्यादा बिर्सेर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भम्रणको निम्तो पठाएको भन्दै आचार्यको एनआरएनएभित्रै तीव्र आलोचना भएको थियो।

अध्यक्ष आचार्यले जोन्सनलाई भारत भम्रणको क्रममा नेपालमा पनि आउन भन्दै १९ अप्रिलमा एनआरएनएको तर्फबाट निम्तो पठाएका थिए। बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेटवार्ता हुन सके एक–आपसमा चौतर्फी सहयोग र विकासका आयामहरू अघि बढ्ने भन्दै उनले प्रधानमन्त्री जोन्सनलाई नेपाल आउन निम्तो गरेका थिए।

पदाधिकारीसँग छलफल नै नगरी निम्तो पठाएको भन्दै आचार्यको आलोचना भएको हो। आचार्यमाथि निम्तो पठाउँदा आफ्नो व्यवसायिक प्रचार–प्रसार गरेको समेत आरोप छ।आचार्यले निमन्त्रणा पत्रमा एनआरएनएको अध्यक्ष तथा ‘होली काउ’को प्रमुख भनेर लेखेका थिए। ‘होली काउ’ आचार्यले बेलायतमा गर्दै आएको रेष्टुरेण्टको ब्राण्ड हो।

आचार्यले शनिबार बेलुकाको पदाधिकारी बैठकमा माफी मागेका हुन्। ‘बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भारत जानेक्रममा नेपाल लैजाने उदेश्यले मैले आफ्नो व्यक्तिगत निर्णयले पत्र पठाएको हो। राम्रो नियतको लागि गरिएको प्रत्यत्न थियो तर, पत्र लेख्ने क्रममा मेरो कम्पनीकाे नाम पर्न गएकोमा माफी चाहन्छु। आगामी दिनमा संघको आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जाहेर गर्दछु,’ आचार्यको भनाइ उद्यृत गर्दै बैठकमा सहभागी एक आइसीसी सचिवले प्रवास खबरसँग भने।

आचार्यनिकट पदाधिकारीहरुले भने उनको बचाउ गर्दै अध्यक्षले माफी मागिसकेकोले सो विषयमा हुने छलफल रोक्न प्रयास गरेका थिए।

कार्यकारी अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको बैठकमा अध्यक्षद्धय रविना थापा, डा बद्री केसीसहित १०२ जना पदाधिकारीहरुको उपस्थिती थियो।

अनलाइन माध्यमबाट करिव ६ घण्टा चलेको बैठकमा ८० जना पधाधिकारीहरुले आ–आफ्नो भनाइ राखेका थिए।

बेलायती प्रधानमन्त्रीलाई आचार्यले पठाएको निमन्त्रणा पत्र