एनआरएनएको गिर्दो ‘साख’ कसरी जोगाउने ?

एनआरएनएको गिर्दो ‘साख’ कसरी जोगाउने ?

गैरआवासीय नेपाली अभियान सुरु भएको लामो समय भइसकेको छ तर, पनि अहिले यस संस्थासँग प्रत्यक्ष जोडिनेहरुको संख्या निकै कम छ। यो किन कम भएको छ ? गैरआवासीय नेपाली संघमा नेपालीहरुकै आकर्षण कसरी कम भइरहेको छ ? यसमा आकर्षण कसरी बढाउन सकिन्छ भन्ने विषयमा हामी यो संस्थामा लागेका आभियान्ताले सोच्न जरुरी छ।

चुनावी गतिविधिमा को उपस्थित हुन्छ हुँदैन, पञ्जिकृत सदस्य उपस्थित हुन्छ हुँदैन भन्ने एउटा पाटो हो। तर, संस्थाप्रतिको आबद्धता अर्को पाटो हो। संस्थाले सबैका लागि काम गर्ने भएकाले चुनावी गतिविधिमा,पंञ्जिकृत सदस्य भएर निर्वाचन प्रकृयामा नै सहभागी हुनुपर्छ भन्ने छैन तर, अभियानमा सहभागी हुनपर्छ र गराउनु पर्छ। यो साझा अभियान हो, यसलाई स्थापित गर्न पनि यो आवश्यक कुरा हो।

संस्था ठूलो भइसकेको छ। वर्षका हिसाबले पनि दुई दशकको नजिक पुगिसकेको छ। हामिले अब संस्थालाई अगाडी बढाउन केही नयाँ तरिकाहरु अपनाउन जरुरी छ। सरकारसँगको सहकार्य, नेपाली अरु व्यवसायिक संस्थाको सहकार्य र विदेशमै हुने नेपालीहरुसँगको सहकार्य अझ बढी महत्वपूर्ण छ। हामिले सुरुमा एनआरएनए स्थापना गर्दा नेपालको विकास र समृद्धिका कुरा बढी गरिरहेका थियौँ। त्यसपछि नेपालमा ज्ञान,सीप ,पुँजी र अनुभव भित्राउने बढी गरिरहेका थियौँ।

अब गर्नुपर्ने काम

अहिले हामीले गर्नुपर्ने कुरा गर्दा नेपालबाट रोजागरी, व्यवसाय, अध्ययनका तथा अन्य जुनसुकै सन्र्दभमा लामो समयका लागि विदेशमा जाने व्यक्तिले जानूभन्दा अगाडि एनआरएनएको कार्यलयमा प्रवेश गर्ने खालको वातावरण बनाउन पर्छ। यसो गर्दा प्रारम्भिक सदस्य भएपनि यहाँबाट दिन सकिन्छ। अहिले विदेशमा समस्या आएपछि सिधै ठोकिने ठाउँ भनेकै एनआरएनए हो।

समस्या नपर्दासम्म हामी आ–आफ्नो ढंगले काम गरिरहेका हुन्छौँ तर, जुन दिन समस्या पर्छ हामी तव समस्याको समाधान खोज्छौं। स्वाभाविक रुपमा दूतावास सरकारी निकाय हो। तर, धेरै ठाउँका दूतावासहरुमा साधन, श्रोत, कर्मचारीको अभाव छ। दूतावासबाट जुन सेवा हामिले अपेक्षा गरेका छौं त्यो खालको प्रवाह हुन सकेको छैन। दूतावास भनेको त्यो देशमा रहेका नेपालीहरुको हक –हित र सुरक्षाका निम्ति काम गर्नु पर्छ तर, उसको जिम्मेवारी अरु पनि धेरै हुन्छ। त्यसकारणले उनीहरुलाई समस्या पर्दा आवश्यक पर्ने भनेको एनआरएनए हो। त्यसैले जानू भन्दा अगाडी नै जानकारी गरेर गयो भने उनीहरुलाई समस्या पर्दा र केही सोधपुछ गर्न पर्दा छिटो सेवा उपलब्ध हुन सक्छ । यसले पनि एनआरएनएप्रतिको लगाव, यसप्रतिको आबद्धता र अभियानमा उनीहरुको संलग्नता बढाउन सक्छ।

हामीले त्यसका लागि के–के उपाय लगाउन सक्छौँ भनेर अब अध्ययन गर्न जरुरी छ। त्यो उपायहरुमध्येको एउटा बीमा हो। श्रमका लागि, अध्ययनका लागि, व्यवसाय नै गर्न गएपनि तथा अन्य जुनकुनै कामका लागि गएपनि विदेश जानेहरुले बीमा गरेर जानु उचित हुन्छ। त्यसरी बीमा गरेर जाँदा विदेशमा आइपर्ने अफ्ठेराहरुलाई एक हिसाबले सहयोग पुग्छ । बिरामी हुँदा, दुर्घटना हुँदा तथा अन्य कामहरुमा पनि बीमा भयो भने सहज हुन्छ।

अहिले श्रम स्वीकृति लिने बेलामा नै बीमा गर्नुपर्ने सरकारी नीति छ। यो केवल रोजजगारीको लागि जाने श्रमिकहरुलाई हो। सीमित अवधिको लागि गरिएको बीमाका लागि पनि विदेश नै हुँदा त्यसको मिति सकिएको खण्डमा त्यसलाई नवीकरण गर्न पाउने व्यवस्था भने अहिले छैन। त्यसलाई नवीकरण गर्न पाउने व्यवस्था हुनुपर्ने देखिन्छ, यसबाट विदेश जाने हरेक नेपालीहरुलाई सहज हुन्थ्यो।

विभिन्न समस्याका कारण श्रम स्वीकृति नलिई विदेश जानुपर्ने बाध्यता अझै पनि रहेको छ। नेपालमा रोजगारीको अवसर नभएका कारणले पनि श्रम स्वीकृति नलिई विदेश जाने नेपालीको संख्या पनि ठूलो छ। बीमा तथा श्रम स्वीकृति नलिई विदेश जानेहरुलाई सहयोग गर्ने सरकारी मापदण्ड छैन। जसले गर्दा विदेशमा थुप्रै समस्याहरु आउने गरेका छन्। अर्काे कुरा, विदेशमा गएर श्रमिकको रुपमा काम गर्ने नेपालीहरु सबै श्रम स्वीकृति लिएर मात्र जाँदैनन् । पढ्न गएका, पर्यटकको रुपमा घुम्न गएकाहरु पनि उता गएर काम गरिरहेका हुन्छन्। त्यसरी जाने व्यक्तिहरुलाई बीमाको व्यवस्था हुँदैन । जुनसुकै कामका लागि विदेश जानेलाई बीमाको परिधिभित्र राख्नु पर्ने आवश्यकता छ। यसो भयो भने समस्या पर्दा सहयोग मिल्न सक्छ।

खासगरी खाडी मुलुकहरु र मलेसिया जानेहरुको विभिन्न कारणले मृत्यु हुने र मृत्यु हुनेहरुको शव ल्याउनका लागि पनि बीमा तथा श्रम स्वीकृति नहुदाँ समस्या आउने गरेको छ। परिवारका सदस्यहरुलाई पनि दुःख पर्ने र आर्थिक समस्याबाट पनि गुज्रनु परेको छ। कुनै पनि हालतमा बीमाको दायरा आउन पर्ने व्यवस्था हुने हो भने कमसेकम सानो–सानो समस्यामा कुनै संस्था गुहार्नु पर्ने थिएन। र, यसबाट संस्थालाई पनि राहत मिल्ने थियो। यसतर्फ एनआरएनएले काम गर्न जरुरी देखिन्छ।

श्रमिकहरुको हितमा गर्नुपर्ने धेरै कामहरु भएता पनि अहिलेको लागि केही सुरुवात मात्र भएपनि गर्न सकियो भने राम्रो हुन्छ। संस्थाले सुरु गर्न सक्यो भने संस्थाप्रतिको लगाव बढाउन र हेर्ने दृष्टिकोण बदल्न सकिन्थ्यो। बीमाको अवधि २ वर्षको मात्र हुने तर, बाहिरी मुलुक जाने नेपाली सो भन्दा बढी समय बस्ने हुँदा बीमा गरेर जानेलाई पनि समस्या सिर्जना भएको छ।

अहिले संसारमा थरीथरीका बीमाहरु छन्। तीमध्ये अहिले हामिले श्रम स्वृकिती लिएर जानेहरुलाई राज्यले पनि त्यो अनिवार्य गरेको हुनाले एकखालको बीमा प्रक्रिया सुरु भएको छ। त्यो राम्रो कुरा हो । तर, यसलाई हामिले अर्को चरणमा लैजानु जरुरी छ। समय अवधि बढाउन आवश्यक छ। अरु भिसामा जानेहरुलाई पनि बीमामा जोड्न जरुरी छ।

एउटा उदाहरण, श्रम अनुमति लिएर जापानमा जाने विद्यार्थीको २ वर्ष नपुग्दै त्यहाँ विविध कारणले मृत्यु हुन्छ। यस्तो अवस्थामा समुदायले चन्दा उठाएर दिनेबाहेक केहि पनि हुँदैन। बीमाको दायराभित्र उनीहरु छैनन्। विद्यार्थीलाई पनि बीमा अनिवार्य गरिनुपर्छ। बीमाको लागि यहाँ धेरै पैसा तिर्नु पर्देन। समस्या पर्दा उनीहरुले पाउने सुविधा उल्लेखिय हुन्छ, त्यसकारणले हामिले त्यतातिर ध्यान दिन जरुरी छ।

यदी सरकारले विदेश जानुपूर्व एनआरनएको सचिवालयमा अनिवार्य प्रवेश गर्ने व्यवस्था गरिदियो भने हामीले धेरै सूचनाहरु प्रवाह गर्न सक्छौँ। त्यो सूचनाले विदेश जानेलाई त्यो ठाउँमा पुगेपछि सहयोग पुग्न सक्छ । आवश्यक जानकारी पर्दा कहाँ सोध्ने ? सोध्ने ठाउँ थाहा नहुन सक्छ त्यसैले हामीले यहाँ त्यो भयो भने एउटा सामान्य ‘बुकलेट’ बनाएर दिन सक्छौँ।

एउटा सिस्ट्म भयो भने हामिहरुको ८० भन्दा बढी देशमा राष्ट्रिय समन्वय परिषद्हरु गठन भइसकेका छ्न्। ती देशहरूको बारेमा सामान्य सूचना राखेर दिइयो भने उनीहरुलाई त्यहाँ के गर्न हुने? के गर्न न हुने ? कतिपय ठाउँमा त्यो देशका संस्कारजन्य कुराहरुले केही चिजहरु गर्दा उनीहरुको त्यहाँ स्थानीय मान्छेहरु आँखामा त्यो बिझाउँछ। त्यो हामिलाई थाहा हुँदैन। नेपालमा पनि विदेशीहरुले आएर गरिरहेका कतिपय गतिविधिहरु हाम्रा आँखामा बिझाउँछन् नि त्यो उनीहरुलाई थाहा हुँदैन । त्यस्तै हामी अर्काको मुलुकमा गएर केही चिजहरु गरिरहँदा उनीहरुको आँखामा बिझाउँछ। त्यो हामीलाई थाहा नभएको हुनसक्छ।

त्यसैले हामी कुन देशमा के कुरा बिझाउँछ कुन देशमा गएर के कुरा गर्न हुँदैन। कुन देशमा हामीले गर्ने राम्रो कुरा पनि उनीहरुको लागि नराम्रो हुन्छ यस्ता यस्ता कुराहरु संस्कारका कुराहरु हामिले कलेक्सन गर्ने बुकलेटमा राख्ने दिने व्यवस्था गर्न सकियो भने एक हदसम्म विदेश जानेहरुलाई सहयोग मिल्छ।

अहिले सबै भन्दा ठूलो सहयोग सूचनाको हो। मान्छेहरूलाई सूचना भयो भने धेरै चिज गर्न सक्ने अवस्था आइसक्यो। त्यसकारणले हामिले दिन सक्ने भनेको मुख्य सूचना नै हो । अप्ठ्यारो पर्दा उताबाट उद्घार गर्नुपर्ने कुराहरु त्यो हामी सरकारसँग मिलेर गरिरहेका छौँ। एनआरएनएको आफ्नै सञ्जाललाई प्रयोग गरेर एउटा सहयोग जुटाएर गरिरहेका छौँ त्यो अलग पक्ष हो। त्योसम्म नपुगि पनि गर्न सकिने कुराहरू जुटाउन सकिने सहयोगहरु हामिले हेर्दै जानू पर्ने हुन्छ।

विदेशमा बस्ने नेपालीहरुलाई आइपर्ने समस्याहरु समाधान गर्नलाई अहिले जति एनआरएनए संलग्न भइरहेको छ त्यत्ति संलग्न हुनुपर्छ भन्ने कुरा हामीले संस्था स्थापना गर्ने समयमा सायदै सोचेको थियाैँ होला। त्यसकारणले यसको क्षेत्र पनि फराकिलो भएको देखिन्छ। हामीले स्थापना गर्दाको ज्ञान, सीप, पुँजी, अनुभव नेपाल भित्राउने कुरा गरिरहँदा आजको दिनसम्म आउँदा पनि मुलतः पुँजी भित्राउने कुरा लगानि गर्नु पर्छ भन्ने कुरा सबैले उठाउने गरेका छन् । सरकारको पनि त्यो खालको अपेक्षा ठूलो छ।

अरु कम्युनिटिको पनि त्यो खालको अपेक्षा ठूलो छ।व्यवसायिक साझेदारको नि त्यो खालको अपेक्षा ठूलो छ। त्योबाहेक अरु तीन चिज ज्ञान, सीप र अनुभवलाई पनि नेपाल सदुपयोग गर्न सकिन्छ भन्ने गरिएपनि व्यवहारिक रुपमा त्यसलाई अङ्कार गरेको देखिदैन।हामी बाहिर बसेका साथिहरुको ज्ञान उहाँहरुको विज्ञाता यहाँ सदुपयोग गर्नका निम्ति त्यो खालको वातावरण बनिसकेको छैन। हामीले प्रयास गरिरहेका छौं। विज्ञ सम्मेलन गरिरहेका छौँ। हाम्रा सभा सम्मेलन सरकरी निकायसँगको सम्मेलनमा पनि ती कुराहरु राखी रहेका छौँ।

हाम्रा विदेशमा बस्ने विज्ञहरुको कुराबाट थाहा हुन्छ । विकासका मोडेलमा ती कुराहरु उपयोग हुन सक्लान् । त्यसैगरी अनुसन्धानका क्षेत्रमा होलान् । अर्काको देशका ठूला–ठूला धनरासी खर्च गरेर गरिएको विकासको क्षेत्रमा नेपालीहरु संलग्न छन्। त्यो उनीहरुले त्यहाँ अनुभव गरेका कुराहरु सदुपयोग गर्ने हो भने केही अनुसन्धान गरिरहनु पर्ने आवश्यकता हुँदैन। नेपालभित्र त्यसलाई पनि उपयोग गर्न सकिन्छ भन्ने कुरामा सरकारी निकायहरु त्था सरकारीसँग अझ बढी सहकार्य गर्न जरुरी छ।

गिरेको साख कसरी उकास्ने ?

अहिले एनआरएनएप्रतिको विश्वासमा कमी भएको छ । साख गिरेको अवस्था छ। यो भएको पनि एउटै कारण छ । निर्वाचनको समयमा सिर्जना हुने गरेका समस्याहरुका कारणले संघप्रतिको विश्वास घटेको हो। पहिला संघको पदाधिकारी राख्नका लागि पनि अनुरोध गर्नुपर्ने अवस्था थियो । तर, अहिले भने प्रतिस्पर्धा गर्नुपर्ने र चुनाव गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ।

अहिले निर्वाचन नै गर्न नसक्ने अवस्था समेत आयो । एनआरएए नै जाने फुट्ने अवस्था आएपछि पदाधिकारीको संख्या बढाएरै, सबैलाई समेटेरै अघि बढ्न पर्छ भन्ने दृष्टिकोणले अहिले संस्थालाई जोगाइयो। जुन उद्देश्यले यो संस्था स्थापना भएको छ त्यही हिसाबले अघि बढ्नुपर्छ भन्ने भावना सबैमा विकास हुँदै गएको छ । यसको आवश्यकता सकियो भन्ने अवस्था अझै पनि आएको छैन । यो कुरामा सबै सहमत हुँदाहुँदै पनि निर्वाचनमा सबै मिलेर जानुपर्छ भन्ने कुरामा पदाधिकारीहरु सबैजना सहमत हुन नसकेको अवस्था छ। यही कारणले समस्या सिर्जना भइरहेको छ । सरकार, अन्य निकाय, विदेशमा बस्ने र देशमा बस्ने नेपाली कोही पनि यो संघ चाँहिदैन भन्ने अवस्थामा छैनन्।

जब–जब समस्या सिर्जना हुन्छ तब संघलाई खोज्नुले पनि यसको आवश्यकता रहेको पुष्टि हुन्छ। कोभिडको बेलामा पनि एनआरएनएले हरेक देशमा कुनै न कुनै रुपमा सेवा गर्‍यो।

विदेश गएका नेपालीले खान नपाउँदा, रोजगारी गुमाउँदा र फर्कन पर्ने अवस्था आउँदा संघले सहयोग गरेको छ। स्वास्थ्य टिमले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको छ । बिरामी भएर घरमा बस्नु पर्दा उनीहरुलाई खाना पुर्याउने, औषधि उपचारका कुराहरू गरिरहेको छ । संघको स्वास्थ्यकर्मिहरुको ठूलो टिम खटेर सेवा दिइरहेको छ।

अहिले नेपालमा डलर संञ्चितिको अभाव भइहेको बेलामा पनि सरकारले पनि गैरआवासीय नेपाली सबै राष्ट्रमा आउन सक्ने समस्यामा हातेमाले गर्न तयारी थालेका छन्।

डलर सञ्चिती बढाउनका निम्ति हामिले अनियान सुरु गरिसकेका छौँ । गैरआवासीय नेपालीले सरकारसँग मिलेर डलर खाता खोल्न मिल्ने व्यवस्था हुँदैछ। हामी डलर खातामा बाहिरबाट पठाएको पैसा आवश्यक पर्दा बाहिर लिएर जाने व्यवस्था हुँदैछ,अहिलेसम्म त्यो थिएन। विदेशमा बस्ने नेपालीहरुले कहिले केही पर्ला भनेर केही पैसा सुरक्षित राखिरहेका हुन्छ । स्वाभाविक रुपमा राख्नै पर्ने हुन्छ । सबै पैसा यहाँ पठाएर आवश्यक परेको बेला खर्च गर्नु पर्दा हुँदैन भनेर पनि विदेशमा राखिरहेको हुन्छ।

विदेशमा ब्याज आउँदैन अझ कतिपय मुलुकमा बैंकमा पैसा राखे र झिके वापत उल्टो पैसा लाग्ने अवस्था छ। त्यो पैसा यहाँ ल्याएर राख्ने हो भने पनि एउटा राम्रो रकम नेपालमा डलरमा जम्मा हुन्छ होला भन्ने हामिले विश्वास गरेका छौँ । र, हामी त्यो अभियानमा लागेका छौँ। हामी यहाँका बैंकहरुले दिएका सेवा सुविधाको प्रचार गरेर भएपनि गैरआवासीय नेपालीहरुलाई नेपालमा पैसा राख्नका निमित्त र डलर खातामा राख्नका निम्ति पनि अनुरोध गर्छौँ।

नेपालमा लगानी गर्नका लागि कम्तीमा १० अर्वको लगानीको सुरुवात गर्न लागेका छौँ । यसमा साना–साना लगानी पनि यसमा समावेश हुने छ। यसका लागि सरकारले पनि सहयोग गरिरहेको छ। एनआरएनएको साख जोगाउन हामी प्रयासरत छौँ। एनआरएनए साँच्चै राष्ट्रको उन्नतीको एउटा पाटो हो भन्ने कुरालाई पनि स्थापित गराउँदै जानेछौँ।

हामीले अघिल्लो अधिवेशनदेखि अहिलेको अधिवेशनको सन्दर्भमा केही नकारात्मक कुराहरु अवश्य पनि भोगेका र देखेका छौँ । तर, त्यसले प्रभाव सँगसँगै हामीलाई शिक्षा पनि दिएको छ । आफैँले राम्रा काम गर्न नसकेका र आफैँले गरेका केही गल्तीहरु भएपनि शिक्षा लिइकेपछि त्यसलाई सुधार्नु पर्छ। अब सुधार्नुको विकल्प पनि छैन। संस्थागत संरचनालाई पनि हामीले सुधार्नु जरुरी छ । संस्थाको सचिवालयको क्षमता वृद्धि गर्नु पनि जरुरी छ। साथै नेपालभित्र सरकारी र विभिन्न निकायसँग सहकार्य गरिरहेका छौँ यसलाई अर्थपूर्ण रुपमा अघि बढाउन जरुरी छ।

यसबाहेक विदेशमा रहेका नेपालीहरु जो संस्थासँग प्रत्यक्ष जोडिनु भएको छैन उहाँहरुलाई पनि सकेसम्म बढी जोड्नु जरुरी छ । संलग्न हुनु भनेको दुःख पर्दा उहाँहरुले सहयोग पाउनु मात्र नभई सक्षम हुँदा पनि राष्ट्रका निम्ति सुरु गरेका अभियानहरुमा थोरै भएपनि लगानी गरेर, अभियानमा सामेल भएर सहयोग गर्नु हो। त्यसका लागि हामी अघि बढ्पर्छ। यसरी अघि बढ्दा विदेशमा बस्ने नेपालीहरु पनि आफ्नो राष्ट्रलाई समृद्ध बनाउने कुरामा, ज्ञान सीप र पुँजी भित्र्याउन सहयोग गर्नु हुन्छ भन्ने विश्वास छ। र, संघले पनि जुनकुनै ठाउँमा रहेका नेपालीहरुको हक हितमा काम गर्नेछ। संघले देशको विकास र समृद्धिको अंगको रुपमा सहयोग पुर्याउन सकेको कुरा नेतृत्वमा बस्नेहरुले नेपालीहरुलाई विश्वास दिलाउन सक्नुपर्छ । यसरी संघको साख पनि बचाउन सकिन्छ।

(प्रवास खबरसँग घिमिरेले व्यक्त गरेको विचारको संम्पादित अंश। एनआरएनएका उपाध्यक्ष घिमिरेले जापानमा व्यवसाय गर्दै आएका छन्।)