अमेरिकी उपसहायकमन्त्री केल्ली लुम्बिनीमा
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी उपसहायकमन्त्री केल्ली काईडेर्लिङको टोलीले भ्रमण गरेको छ । भ्रमणमा आएको मन्त्री केल्ली नेतृत्वको टोलीसँग विश्वविद्यालयमा आयोजित छलफलमा उपसहायकमन्त्री केल्लीले अमेरिका र नेपालको सम्बन्ध ७५ वर्षदेखि घनिष्ट रहेको बताए । यो सम्बन्ध निरन्तर रहने उनको भनाइ छ ।
अमेरिकी प्रतिनिधि मण्डललाई विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको प्राज्ञिकसहित समग्र विषयमा जानकारी गराएका थिए । उपकुलपति बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्रको माग बमोजिम विश्वविद्यालय स्थापना भएको भन्दै स्थापनाको उद्देश्यपूर्ति गर्ने गरी कार्य गरिरहेको बताए । विश्वविद्यालयले मूल बौद्ध दर्शन र प्रयोगात्मक बौद्ध दर्शनलाई आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
कानुन, यात्रा तथा पर्यटन, वन विज्ञानलगायत विषयहरु बौद्ध दर्शनकै प्रयोगात्मक शिक्षणतर्फका रहेको बताउँदै कक्षा सञ्चालन सुरु भएको छोटो अवधिमा बौद्ध विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक विकासका निरन्तर कार्य गरिरहेको जानकारी गराए । सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य, डीन डा माणिकरत्न शाक्य, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्राध्यापक डा साकिच्च, केन्द्रीय क्यामपस सहायक प्रमुख डा शारदा पौडेललगायत प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो ।अमेरिकी दुतावासको सहयोगमा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षा लिइरहेका छन् । उपसहायक मन्त्रीसहितको टोलीले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको थियो ।