भिजिट भिसामा यूएई थप लचिलो : स्पोन्सर नचाहिने, ब्याचलर गरेका विद्यार्थीलाई रोजगार भिसा दिने

भिजिट भिसामा यूएई थप लचिलो :  स्पोन्सर नचाहिने,  ब्याचलर गरेका विद्यार्थीलाई रोजगार भिसा दिने सांकेतीक तस्वीर

काठमाडौं । अबदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट भिसा अन्तर्गत जान चाहनेले विभिन्न प्रकारका भिसाहरु अन्तर्गत भ्रमणमा जान सक्नेछन्।

सोमबार आप्रवासीहरुलाई लक्षीत गर्दै यूएईले नयाँ भिसा प्रणालीको घोषणा गरेको छ। योसँगै नेपाललगायत अन्य देशका नागरिकहरुले विभिन्न भ्रमण उद्देश्यका लागि विभिन्न प्रकारका भिसाहरु प्राप्त गर्न सक्नेछन्।

यूएईमा पहिलो पटक जारी गरिएको यस्तो प्रकारको स्कीमको लागि रोजगारदाता वा प्रायोजकको आवश्यकता पर्नेछैन। सबै प्रकारका भिसाहरूको लागि प्रवेश सहज बनाउने, र आगन्तुकहरूको आवश्यकता र भ्रमणको उद्देश्य पूरा गर्ने लचिलो भिसा अवधिहरू प्रदान गर्न सहजीकरण गर्ने जस्ता मुख्य उपलब्धिहरु यो प्रणालीमा रहेका छन्।

त्यस्तै, सबै प्रवेश भिसाहरू एकल वा बहु प्रवेशको लागि उपलब्ध हुने र समान अवधीको लागि नवीकरण गर्न सकिनेछ। ती भिसाहरु जारी भएको मितिदेखि ६० दिनसम्मको लागि मान्य हुनेछन्।

रोजगार भिसा

देशमा उपलब्ध रोजगारीका अवसरहरूमा आबद्ध गर्नका लागि युवा प्रतिभा र दक्ष पेशेवरहरूलाई आकर्षित गर्ने उद्देश्यले यो भिसा ल्याइएको हो। यो भिसाको लागि मानव संसाधन र एमिरेटाइजेशन मन्त्रालयका अनुसार पहिलो, दोस्रो वा तेस्रो स्तरको सीपमा वर्गीकृत भएकाे हुनुपर्नेछ। यो भिसा विश्वका उत्कृष्ट ५ सय विश्वविद्यालयहरूबाट भर्खरै स्नातक गरेका ब्यक्ति (फ्रेस ग्रेजुएट)हरूलाई प्रदान गरिने र न्यूनतम शैक्षिक योग्यता स्नातक वा सो सरह हुनुपर्ने छ।

व्यवसायिक भिसा

लगानीकर्ता र उद्यमीहरूलाई यूएईमा व्यापार र लगानीका अवसरहरुको खोजी गर्न प्रोत्साहित गर्ने उद्देश्यले प्रायोजक वा होस्टको आवश्यकता बिना नै सजिलोसँग प्रवेश पाउनेगरि यस्तो भिसा जारी गरिएको छ।

पर्यटक भिसा

यूएईमा पर्यटन प्रतिष्ठानले प्रायोजित गरेको नियमित पर्यटन भिसाका अतिरिक्त पाँच वर्षे बहु-प्रवेश पर्यटक भिसा पनि जारी गरेको छ।

यस प्रकारको भिसाको लागि प्रायोजकको आवश्यकता पर्नेछैन। यो भिसा अन्तर्गत कुनै व्यक्ति लगातार ९० दिनसम्म यूएईमा बस्न अनुमति पाउनेछ, र बसाइको सम्पूर्ण अवधि एक वर्षमा १ सय ८० दिनभन्दा बढी नहुने गरी ९० दिनको लागि लम्ब्याउन सकिने बताइएको छ।

यो भिसाको लागि आवेदन पेश गर्नु अघिको ६ महिनाको अवधिमा ४ हजार अमेरिकी डलर वा सो बराबरको रकम बैंक ब्यालेन्स भएको प्रमाण पेश गर्नुपर्नेछ।

आफन्त वा साथीहरूलाई भेट्नको लागि प्रवेशाज्ञा

यदि आवेदकको कुनै आफन्त वा साथी यूएईको नागरिक वा निवासी भएको खण्डमा यो भिसा प्राप्त गर्न सकिनेछ। यसको लागि प्रायोजक वा होस्टको आवश्यकता पर्नेछैन।

अस्थायी कार्य मिसन

यो प्रकारको भिसा प्रोबेशन टेस्टिङ वा प्रोजेक्टमा-आधारित मिसन जस्ता अस्थायी कार्य प्राप्त गरेकाहरूका लागि हो। यो भिसा रोजगारदाताद्वारा प्रायोजित भएको हुनुपर्छ। यसका लागि अस्थायी कार्य सम्झौता वा भ्रमणको उद्देश्य र काम गर्नको लागि स्वस्थ भएको प्रमाण स्पष्ट गर्ने रोजगारदाताको तर्फबाट लेखिएको पत्र चाहिने बताइएको छ।

अध्ययन वा तालिम

यो प्रकारको भिसा प्रशिक्षण र अध्ययन पाठ्यक्रमहरूमा भाग लिने र/वा इन्टर्नशिप कार्यक्रमहरूमा भाग लिनेहरूले प्राप्त गर्न सक्नेछन्। यो भिसा प्रायोजन प्रायोजक देशमा इजाजतपत्र प्राप्त विश्वविद्यालयहरू वा शैक्षिक वा अनुसन्धान संस्थाहरूले गर्न सक्नेछन्। ती संस्थाहरु सरकारी वा निजीमध्ये कुनै हुन सक्नेछन्।

यस भिसाको लागि अध्ययन, प्रशिक्षण वा इन्टर्नशिप कार्यक्रम र यसको अवधिको विवरणहरू स्पष्ट गरिएको संस्थाबाट लेखिएको एउटा पत्र चाहिने समेत बताइएको छ।