अनअराइभल भिसाका लागि २०० डलर बोक्नुपर्ने प्रावधान खारेज

अनअराइभल भिसाका लागि २०० डलर बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौं। नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने भिसा (अनअराइभल भिसा) का लागि दुई सय अमेरिकी डलर साथमै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको छ।

विमानस्थल अध्यागमन कार्यालयले सूचना निकालेर एटिएम मेशिन र विद्युतीय भुक्तानी सेवामा समेत समस्या आएको भन्दै नगदै बोेकेर आउन पर्यटकसँग आग्रह गरेको थियो।

अध्यागमन कार्यालयको सूचनाको चैतर्फी आलोचना भएपछि गृह मन्त्रालयले अध्यागमन कार्यालयको निर्णय खारेज गर्दै सेवा प्रवाह चुस्त बनाउन निर्देशन दिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयको निर्देशनअनुसार विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन जडानको काम सुरु भइसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकका दुई वटा एटीएम मेशिन र दुई वटा पीओएस मेशिन थप गर्न लागेको उनले बताए।

नगदै बोक्नुपर्ने सूचनाले अध्यागमन प्रशासन र विमानस्थल सुरक्षा एवम् आन्तरिक व्यवस्थापनमा देशकै छविमा असर भनेर आलोचना बढेपछि आज सोमबार गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका थिए।