एनआरएनएको केन्द्रीय बैठक ३० अप्रिलमा

एनआरएनएको केन्द्रीय बैठक ३० अप्रिलमा

काठमाडौं। गैरआवासीय नेपाली संघ ९एनआरएनए० को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४ औं बैठक अप्रिल ३० तारिख भर्चुअलमार्फत बस्न लागेको हो।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ।

जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी (केन्द्रीय) सदस्यहरुलाई आग्रह गरिएको छ।

‘साथीहरुले चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाइहरु राख्न पाइदैन् भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ,’ जोशीले भने ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा ३० अप्रिलमा बस्ने पदाधिकारी (ओविइ) बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयाँ सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाइ राख्ने तयारी गरेका छन्।