‘सिसेल्स प्रहरीमा जागिर लगाउने’ समाचारप्रति एनआरएनए अफ्रिकाका उपसंयोजक पन्तको आपत्ति

‘सिसेल्स प्रहरीमा जागिर लगाउने’ समाचारप्रति एनआरएनए अफ्रिकाका उपसंयोजक पन्तको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रीय उपसंयोजक आरपी पन्तले केही सञ्चार माध्यमहरूमा आफ्नो नाम मुछिएर प्रकाशित समाचारहरूप्रति आपत्ति जनाएका छन्।

केही दिनअघि एउटा पत्रिकाले ‘सिसेल्स पुलिसमा जागिर लगाउने भन्दै लागत भन्दा १० गुणा बढी पैसा उठाईँदै, श्रममन्त्री किसानको पनि संलग्नताको आशंका’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। एउटा अनलाइनमा समेत प्रकाशित भएको त्यो समाचारमा अफ्रिकी देश सिसेल्समा कार्यरत पन्त र एनआरएनएमा आवद्ध अरूको समेत नाम मुछिएको थियो।

पन्तले एउटा विज्ञप्ति जारी गर्दै उक्त समाचारमा प्रकाशित तथ्यहरू सही नभएको र आफूहरूमाथि झुट्टा आरोप लगाइएको बताएका छन्।

‘समाचार भन्दा पनि कुनै आलेख,कथा,निबन्धजस्तो लाग्ने उक्त भ्रामक,कपोकल्पित र झुट सामग्रीमा म लगायत यहाँ कार्यरत अन्य एनआरएनएसँग सम्बन्धित साथीहरुको पनि नाम जोडिएको पाइयो’ उनले भनेका छन् ‘व्यक्तिगत रुपमा यस्तो अनर्गल समाचारप्रति मेरो असहमति र गम्भीर ध्यानाकर्षण भएको छ।’

उनले समाचारको सत्यता पुष्टि गर्न र अन्यथा लेखक र सञ्चारमाध्यमविरूद्ध आफूले कानुनी उपचार खोज्ने पनि बताएका छन्।