तिक्तता बिर्सेर कार्यकारी अध्यक्ष कुल आचार्यलाई पूर्ण सहयोग गर्छु : डा. बद्री केसी

तिक्तता बिर्सेर कार्यकारी अध्यक्ष कुल आचार्यलाई पूर्ण सहयोग गर्छु : डा. बद्री केसी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नयाँ वर्षदेखि संस्थाभित्रका सबै असहमित हट्ने बताएका छन्।

संघको अमेरिका क्षेत्रीय समितिले शनिवार आयोजना गरेको नयाँ वर्ष विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीले एनआरएनएलाई बलियो बनाउन आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए।

संघको वर्तमान कार्यसमिति जम्बो भएको आलोचना भएपनि संस्थाको हितको लागि सशक्त रुपमा परिचालन गरेर अघि बढ्न सकिने डा. केसीको भनाइ छ।

यसअघिका तिक्तता बिर्सेर एनआरएनएलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने डा. केसीको जोड छ।

१० औं महाधिवेशनले संघको विभाजनको बिउ रोपिएको बताउँदै डा. केसीले कार्यकारी अध्यक्ष कुल आचार्यलाई आफूले पूर्ण रुपमा सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गरे।

उनले संस्थाभित्र विवाद आउँदा तेस्रो व्यक्तिले फाइदा लिने गरेको अनुभव सुनाउँदै त्यसतर्फ सजक रहन आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दे संघका उपाध्यक्ष डा.हेम राज शर्माले १० औं महाधिवेशनमा भएका कमिकमजोरीका बारेमा आत्मआलोचना गर्नु पर्ने बताएका छन् ।

डा. शर्माले संघ अभियानमा अमेरिका क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए।

संघका महासचिव गौरीराज जोशीले नयाँ कार्यसमितिबाट काम गर्न त्यति सजिलो नभएको भन्दै आफू त्यती आशावादी नभएको धारणा राखे । उनले आगामी १८ महिनामा निश्पक्ष निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्न सक्नुनै ठूलो उपलब्धि हुने बताए।

 

उनले विधान, कार्यसमिति, सचिवालय, एनआरएनए राष्ट्रिय समितिमा थुप्रै समस्या र चुनौती भएको बताए। उनले वर्तमान कार्यसमिति कठिन अवस्थामा रहेको बताए।

संघका महासचिव रामशरण सिमखडाले संस्थामा विधानको सर्वोच्चता स्वीकार नगर्दा विवाद आएको बताए। उनले संस्था व्यक्तिको सनकको भरमा होइन् पद्धतिले चल्नु पर्नेमा जोड दिए।

कार्यक्रमा संघका सचिव प्रमोद सिटौलाले वर्तमान कार्यसमितिको सुरुवातनै निरासाजनक भएको बताए । उनले १० औं महाधिवेशनमा निर्वाचन किन हुन सकेन भन्ने विषयमा व्यापक छलफल हुनु पर्नेमा जोड दिए।

संघका कोषाध्यक्ष सुनिल शाहले सचिवालय प्रष्ट नीति ल्याउन नसके संस्था गति कमजोर हुने बताए । उनले नेतृत्वमा पुगेर अरुलाई दोष लगाएर पछि हट्न नमिल्ने तर्क गरे । उनले संस्थाको विधान पारित भइसकेपछि सबैले मानेर अघि बढ्नु पर्ने बताए ।

एनआरएनए अमेरिकाका अग्रज कृष्ण लामिछानेले व्यक्ति भन्दा संस्था ठूलो हो भन्ने मान्यताका आधार संघको १० औं महाधिवेशनमा भएको भागबण्डालाई मानेर अघि बढ्न बाध्य भएको बताए । उनले संस्थाका पदाधिकारीभित्र व्यापक छलफल गरेर संस्थाका समस्या समाधान गर्न सुझाव दिए।

कार्यक्रममा उपाध्यक्षहरु यसमिन बेगम, रोशन थापा, उपमहासचिव ओम गुरुङ, शंकर खड्का, डा। देवी बस्नेत, राधिका गुरुङ, लगायतको उपस्थिती थियो । कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक प्रकाश सापकोटाले गरेका थिए।