अन्तर्राष्ट्रिय विमानस्थल अब चौबिसै घण्टा सञ्चालनमा आउने

काठमाडौं। अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाइ उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौंको विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ। त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ।
विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिएका छन्। मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो। ‘पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो’, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भने।
कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ। उडान चाप बढ्नु सुखद पक्ष पनि हो। हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ। साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन्। त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताए।
उनले भने, ‘अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ। नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनु छ। आज टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं।’
यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याएका थिए। बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याइएको थियो। यद्यपि, टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो। त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो।
कूल ९२ लाख यात्रु क्षमताको टिआइएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए। कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन। काठमाडौं विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
गौतमबुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि संचालन
प्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ। महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागिएको बताए। ‘अब पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयरर्याक (एरोनेटिकल इनफरमेशन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौं’, महानिर्देशक अधिकारीले भने।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ।
अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्। महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ। न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।
आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुने
रात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ। नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ। प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन्। उडान चापले यात्रा डिले हुँदा घण्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन्। उडान ढिलाइ भएकै कारण घण्टौं यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ। रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ।
देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवन
प्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ, आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ।
महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताए। उनले भने, ‘तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके, मर्मत गरेर चलाउन सम्भव छैन। पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौं।’
ताजा अपडेट
