अनलाइनबाट संस्थागत श्रम स्वीकृति सुरु

अनलाइनबाट संस्थागत श्रम स्वीकृति सुरु

काठमाडौं। वैदेशिक रोजगार कार्यालय, काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न थालेको छ।यो व्यवस्थासँगै म्यानपावर व्यवसायी वा उनिहरुका प्रतिनिधिको भौतिक उपस्थिति विना नै संस्थागत श्रम स्वीकृतिको काम हुनेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र हुने व्यवस्थाको शुभारम्भ गर्नुहुदै सूचना प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासो रहित सेवा प्रदान गर्ने मन्त्रालयको प्राथमिकता भएको बताए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यतावस कामका लागि विदेश जाने व्यक्तिलाई उत्प्रेरित गराएर पठाउने गरी छिटो, छरितो र पारदर्शी सेवाप्रवाह गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए।

कार्यालय प्रमुख रमेश अर्यालले श्रम स्वीकृतिलाई छिटो छरितो गर्न सेवाप्रवाहका ४ चरणलाई घटाएर २ चरणको बनाइएको जानकारी दिए।गत माघ देखि पुन : श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गर्दा कार्यालयमा हुने दैनिक १ हजार बढीको भिडभाड हटेको छ।

कार्यालयले पुन : श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। पुन :  श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र गरेसँगै छिटै नै व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइनबाट हुने गरी काम भैरहेको कार्यालय प्रमुख अर्यालले बताए।

चालु आर्थिक वर्षको चैत्रसम्ममा पुनस् श्रम स्वीकृतितर्फ २ लाख ११ हजार, संस्थागततर्फ २ लाख ३० हजार र व्यक्तिगततर्फ २३ हजार जना भन्दा बढीले सेवा लिएको कार्यालयले जानकारी दिएको छ।