एनआरएनए सचिवालयमा सिईओ पद रिक्त, राणालाई आफ्नो समूहमा लैजाने शेष घलेको तयारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी निर्देशक(सिईओ) राजेश राणाले अवकाश लिएका छन्।
राणाले कर्मचारी नियमावलीअनुसार ५८ वर्षको हद नाघेपछि बैशाख १ देखि अनिवार्य अवकाश लिएका हुन्।
‘मेरो चैत्र ३० गतेसम्मका लागि मात्र सम्झौता थियो। ५८ वर्ष पूरा भएपछि उमेर नियमअनुसार अवकाश लिनुपर्ने हुन्छ। १ गतेदेखि लागू हुनेगरी अवकास लिएको हुँ’, राणाले प्रवास खबरसँग भने।
यद्यपि राणाले अघिल्लो साल नै ५८ वर्ष उमेर पूरा गरिसकेका थिए। नियमअनुसार उनले उतिबेला नै अवकास लिनुपर्ने थियो। तर, संघमा निर्वाचनको विषयलाई लिएर दुई पक्षबीच विवाद चलिरहेका कारण नयाँ सिईओ नियुक्तिमा कठिनाइ हुने देखिएपछि तत्कालीन अध्यक्ष कुमार पन्तले राणाको सम्झौता लम्ब्याइदिएका थिए।
राणाले पटक–पटक गरेर संघको सचिवालयमा झण्डै १२ वर्ष काम गर्ने मौका पाए। यसअघि हेमन्त दवाडी र राणाबीच कार्यकारी पदको विषयमा विवाद पनि भएको थियो। सन् २०१५ मा संघले राणालाई कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाएको थियो। त्यसपछि सचिवालयमा दवाडीलाई नयाँ सिईओ बनाइयो।
तर, राणा भने आफूलाई बिनाकारण जिम्मेवारीबाट हटाइएको भन्दै अदालत पुगेका थिए। अदालतले राणाको पक्षमा फैसला गर्दै पुनःबाहली गर्न आदेश दिएको थियो। अदालतको आदेश बमोजिम संघले त्यत्तिबेला झण्डै ४० लाख नेपाली रुपैया क्षत्तिपूर्ति समेत राणालाई दिनुपरेको थियो।
त्यसयता राणा र दवाडी दुई जनाले सचिवालयमा कार्यकारी निर्देशक भएर काम गरेका थिए। दवाडीले भने उमेर हदकै कारण सन् २०१९ को अन्त्यबाट अवकाश लिए।
राणा पूर्व अध्यक्ष शेष घलेनिकट मानिन्छन्। राणा घलेका विश्वासिला पात्र हुन्। अदालतको आदेशसँगै काममा फर्किएपछि घलेले राणाको ह्वात्तै तलबसुविधा समेत वृद्धि गरेका थिए।
पछिल्लो समय संघमा निर्वाचनको विवाद चलिरहँदा राणाले भित्रिरुपमा घले समूहलाई नै सहयोग गरिरहेको एनआरएनएमा चर्चा छ। घलेलाई समर्थन दिइरहेको कुल आचार्य समूह भने अन्तिम समयमा टिम छोडेर संस्थापन समूहमै फर्कियो।
अहिले घलले पनि कोरिया निवासी विनोद कुँवरको अध्यक्षतामा समानान्तर एनआरएनए गठन गरेका छन्। घलेले राणालाई आफूले गठन गरेको एनआरएनएको सचिवालयमा प्रमुख बनाउने तयारी गरेको चर्चा छ। यसका लागि उनले राणासँग संवाद गरिरहेका छन्। राणा पनि घलेको प्रस्तावमा सकारात्मक रहेको श्रोतको दावी छ।
यस विषयमा प्रवास खबरले राणालाई टेलिफोनमार्फत सोधेको थियो। राणाले भने यस विषयमा आफूलाई केही थाहा नभएको बताए।
‘खोइ मलाई त्यस्तो केही थाहा छैन’, बरू उनले उल्टै सोधे, ‘तपाईंले कसरी थाह पाउनुभयो?’
को बन्ला अब नयाँ सिईओ?
राणाले अवकास लिएपछि संघको सचिवलायमा बिहीवारदेखि प्रमुख कार्यकारी निर्देशकको पद रिक्त भएको छ। १६ अप्रिलमा आयोजित आइसीसीको बैठकमा नयाँ सिईओ नियुक्तिको विषयमा छलफल हुने बताइएको छ।
प्रमुख कार्यकारी निर्देशक नियुक्ति गर्दा एनआरएनएको कर्मचारी नियामावली र नेपालको श्रम ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रावधान छ।
संघमा अहिले तीन जना अध्यक्ष छन्। खुल्ला प्रतिस्पर्धा भनिए पनि अध्यक्षहरू आफू निकटको सिईओ नियुक्ति गर्न चाहान्छन्। आफूलाई काम गर्न सजिलो हुने भएका कारण सिईओ नियुक्तिमा अध्यक्षको मोह बढी हुन्छ।
एनआरएनएको सिईओ पद तलब-सुविधाका हिसावले पनि आकर्षक मानिन्छ। अहिले सिईयोको तलब करिब १ लाख ७२ हजार हुन्छ। यो बाहेक अरू भत्ता तथा सुविधाहरूको पनि व्यवस्था छ।
अन्तर्राष्ट्रिय नेटवर्क विस्तार र कार्यक्रम हुने बेला देशविदेश समेत जान पाउँछन्।