डलर खाताले तरलता संकट समाधान गर्न सघाउनेछ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीको हित र फाइदाका लागि डलरमा खाता खोल्ने अवसर दिइएको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले तरलता संकट समाधान गर्न डलर खाताले पनि सघाउने बताए।
‘लगानी, बचतको व्यवस्था गर्न नीति निर्माण गरिएको हो,’ उनले भने,‘फाइदा गैरआवसीयहरुलाई होस् । लगानी गर्नपनि सहज होस् भन्ने हो। ‘
डलर खाताले पूर्वाधार तथा उत्पादनमा लगानी गराउन सहयोग पुग्ने उनले बताए। डलर खाता सुविधा दिएर निश्क्रिय पुँजी सक्रिय बनाउन खोजिएको पनि हो’, उनले भने ।
उनले खाता खोल्न झन्झट छ, फिर्ता लिन पाइन्छ कि भन्ने प्रश्न हटेको बताए। ‘अहिले पनि प्रश्न गर्नुभयो तर, हामीले सबै झन्झट हटाइसक्यौं । अब खाता खोल्नुहोस्,’ उनले भने, ‘तपाइहरुको प्रश्न हल भइसक्यो। गुणात्मक विकास गर्ने मात्रै हो । फिर्ता लिन सहज बनाइसकेका छौं।’
सञ्चिती लगानी कोष बनाउन लागिएको उनले बताए । ‘श्रम गर्ने श्रमिकलाई टुल्समा सहभागी गराउन खोजेका छौं । मासिक इन्सेन्टिभ दिने । ५/१० प्रतिशत हामीले थप्नेगरी विशेष व्यवस्था गर्दैछौै’,उनले भने ।
अर्थमन्त्री शर्माले १० अर्बको पूर्वाधार कम्पनी मात्र नभई ५० अर्ब पुर्याउन गैरआवासीयहरुलाई आह्वान गरे। ‘१० अर्बले मात्रै परियोजना बन्दैन। लगानीमा सहज गर्न हामीले केही व्यवस्था गर्न लागेका छौं ।’
केही नेपाल ऐन संशोधनमार्फत विदेशीलाई ५ करोड लगानी गर्ने व्यवस्था तयारी भइरहेको उनले बताए। मतदान अधिकार बाहेक नेपाली सरह अधिकार पाइने उनले बताए।
‘फ्रि भिसा तपाइलाई मात्र होइन, पर्यटकलाई पनि दिन सक्छौं, त्यसका लागि गृहकार्य भइरहेको छ’, उनले भने।
आइपिओ एनआरएनएलाई निश्ति प्रतिशत छुट्याउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
१ लाख नेपालीले १० हजारको डलरको दरले खाता खोल्दा तरलतामा मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे । अर्थतन्त्रमा केही संकट आएपनि श्रीलंकाको जस्तो अवस्था नरहेको बताए।
बजेट ५० प्रतिशत खर्च भइसकेको र पुँजीगत खर्च भने २६ प्रतिशत पुगेको उनले बताए। बेमौसमी बाढीका कारण ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने उनले बताए।
एक हप्तादेखि पर्यटन चल्न थालेकाले अर्थतन्त्र उकासिनेमा उनले विश्वास व्यक्त गरे। रेमिट्यान्स गत वर्ष भन्दा १.७ प्रतिशत कम हुनुमा हाइफर, क्रिप्टोको असर गरेको उनले बताए।
‘विलासिताका सामान रोक्न लागेका छौं। आयात गर्ने ट्रेन कम गर्न सुझाव दिएका छौं’, उनले भने,‘ अर्थमन्त्रमा सतर्क भएर सचेत भएका छौं।’
रसिया युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि हुन पुगेकाले त्यसको असर नेपालमा पनि परेको बताए ।