डलर खाता सुविधाले नेपालको समृद्धिमा टेवा पुग्छ : एनआरएनए अध्यक्ष केसी
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले डलर खाता सुविधाले नेपालको समृद्धिका लागि टेवा पुग्ने बताएका छन्।
संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघको सञ्जाल ठूलो भएको भन्दै देशको समृद्धिका लागि सदुपयोग गर्ने बताए।
कोभिड तथा युक्रेन रसियाको द्धन्द्धले नेपाललगायत अन्य मुलुकको अर्थतन्त्रमा समस्या निम्ताएको उनको भनाइ छ।
‘देशको समृद्धिका लागि सहभागी हुन चाहन्छौं’, उनले भने,‘त्यसको लागि १० अर्बको कम्पनी खडा भइसकेको छ।’
डा. केसीले विदेशी लगानी ल्याउन ५ करोडको सीमा राखिएकोले विदेशमा बस्ने नेपालीलाई उक्त व्यवस्था हटाउन सरकार सकारात्मक भएपनि निर्णय हुन नसक्दा लगानी आउन नसकेको बताए।
अन्य समस्या पनि समाधान गर्न सके तुरुन्तै कम्पनी कार्यान्वयनमा जान सक्ने उनको तर्क छ।
डा. केसीले २०७९ लाई रेमिट्यान्स एयर बढाउन चाहेको बताए। विदेशमा नेपालीले जागिर गुमाइरहेकाले पनि रेमिट्यान्स घटिरहेको उनको भनाइ छ।
कानुनीतवरबाटै पठाउन प्रत्सोहन गर्न सके रेमिट्यान्स बढ्ने उनले बताए। ‘विदेशमै पैसा राख्नुभन्दा स्वदेशमै पैसा पठाउन आह्वान गर्छाै’, उनले भने।
बैंकले दिने कमिसन कटाएर संघले सञ्चालन गरेको वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्ने व्यवस्था गर्न आवश्यक भएको अध्यक्ष डा. केसीले बताए।
अष्ट्रेलिया, अमेरिका, युरोपमा पैसा लस भइरहेकाले त्यस्ता व्यक्तिलाई नेपालमै लगानी गर्न, डलर खातामा जम्मा गर्न सके फाइदा पुग्ने भएकाले अभियानै चलाउने उनले बताए।
‘निश्क्रिय बसेको पैसा नेपाल आए ६/७ प्रतिशत ब्याज नेपालमा पाइन्छ । कर घटाउँदै जाउँला। नेपालको बैंकमा पैसा जम्मा गर्न क्याम्पेन गर्छौं,’ उनले भने।
रेमिट्यान्स पठाउँदा १ प्रतिशत ब्याज पाइने भएकाले पनि यसले फाइदा पुगेको बताए।
रेमिट्यान्सबाट पठाएको पैसा पनि सम्बन्धीत देशको करेन्सीमा डिपोजिट हुने प्रावधान हुनुपर्ने उनले बताए।
विदेशमा बिजनेस लोन लिएर डिपोजिट गर्दा पनि नेपालमा आम्दानी बढी हुने भएकाले गैरआवासीयको कुरा सरकारले सुनेमा अभियान सफल हुने उनले बताए।