एनआरएनएद्धारा चितवतनमा अक्सिजन कन्सनट्रेटर सहयोग
भरतपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चितवनमा १ं० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ। राष्ट्रिय समन्वय परिषद् (एनसीसीं) हङकङको पहलमा प्राप्त १ं० थान अक्सिजन कन्सनट्रेटर भरतपुर महानगरपालिकालाई उपलब्ध गराइएको हो।
कोभिड–१९ रोकथाम, व्यवस्थापन तथा बिरामीको सहज उपचारका लागि १० लिटर क्षमताका १० थान कन्सन्ट्रेटर चितवनमा सहयोग गरिएको संघकी महिला सचिव राधिका गुरुङ (टीका) ले बताइन्।
सोमबार संघको तर्फबाट अध्यक्ष डा. बद्री केसीले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
तीमध्ये ७ थान भरतपुर महानगरपालिका र ३ थान माडी नगरपालिकालाई रहेको एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले बताए। संघले अक्सिजन कन्सन्ट्रेटरसहित ९३ हजार मास्क समेत सहयोग गरेको हो।
१५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री चितवनलाई सहयोग गरिएको अध्यक्ष ढकालले बताए। देशमा आपतविपत पर्दा संघ सहयोगी हात फैलाउन तयार रहेको ढकालको भनाइ थियो।
९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारीलायतलाई उपलब्ध गराइनेछ।
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा बोल्दै गर्दै संघका उपमहासचिव ओम गुरुङले कोभिड महामारीसँग जुध्न गैरआवासीय नेपालीले सक्दो सहयोग गरिरहेको बताए। गुरुङले महानगरमा भएको विकासबारे प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।
अध्यक्ष डा. केसीले कोभिड महामारीमा संघले विदेशमा मात्र नभइ नेपालमा समेत ठूलो भूमिका खेलेको बताए। विदेशमा बस्ने नेपाली आफै समस्या पर्दा समेत गास कटाएर नेपालमा सहयोग पठाइएको उनको भनाइ थियो। नेपालमा आफन्तको ज्यान बचाउन संघले ओमनबाट जहाज चार्टर गर्दै अक्सिजन सिलिन्डर नेपाल पठाएको उनले स्मरण गरे।
मेयर रेनु दाहालले कोभिड भाइरससँग जुध्न नेपाललाई एनआरएनएले पुर्याएको सहयोगको चर्चा गरिन्। कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी दाहालले विदेशमा पसिना बगाएर कमाएको पैसाले चितवनवासीलाई सहयोग गरेकोमा गैरआवासीय नेपालीलाई धन्यावाद दिइन्।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष भुषण घिमिरे, सहकोषाध्यक्ष कन्चन थापा, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेलगायतका प्रतिनिधि सहभागी थिए। चितवन सेवा समाजको संयोजनमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाका विभिन्न वडाका वडाअध्यलगायत सुरक्षा निकायका प्रमुखको समेत उपस्थिती थियो।