एनआरएनए यूएईमा राजनीतिक भागबन्डा, माओवादी निकटका ढुंगानालाई अध्यक्ष बनाइँदै

एनआरएनए यूएईमा राजनीतिक भागबन्डा, माओवादी निकटका ढुंगानालाई अध्यक्ष बनाइँदै

काठमाडौं। आन्तरिक विवादमा रुमलिएर लामो समयदेखि नेतृत्वविहीन रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईले अन्तत : नयाँ नेतृत्व पाउने भएको छ।

राजनीतिक खिचातानीका कारण एनआरएनए यूएईको महाधिवेशन विथोलिएको थियो। अध्यक्ष प्रकाश कोइराला निलम्बित भएपछि उपाध्यक्ष निरन्जन सिलवालले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

श्रोतका अनुसार राजनीतिक भागबन्डाका आधारमा नयाँ कार्यसमिति गठन गरिने लगभग सहमति भएको छ। जसअनुसार यूएईमा सक्रिय ५  राजनीतिक दलका भातृ संगठन र नेपाली एसोसिएसनबाट ६/६  जनालाई कार्यसमितिमा ल्याइँदैछ। कार्यसमिति ३१ जनाको हुनेछ।

नयाँ कार्यसमितिमा नेकपा माओवादी (केन्द्र) का ठाकुर ढुंगानालाई नेतृत्वको जिम्मेवारी दिइने सहमति भएको छ। ढुंगानालाई अध्यक्ष बनाउन माओवादी,काँग्रेसलगायतका दलले सहमति जनाए पनि एमाले, जसपालगायतका दलका प्रतिनिधिले भने अझैसम्म पूर्णरूपमा सहमति जनाइसकेका छैनन्। यी दलहरुले राजनीतिक भागबन्डामा नभइ संस्थामा योगदान पुर्याएका र रोलक्रममा रहेका व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने अडान कसेका छन्।

नयाँ कार्यसमितिमा जसपा निकटका शोभा शर्मा, एमालेका सुजन सापकोटा, माओवादीका निरन्जन सिलवाल, काँग्रेसका बिकास शाही र राप्रपाका नरेश सेनलाई उपाध्यक्षमा प्रस्ताव गरिएको छ । तर, जसपा र एमालेलगायतका दलबाट प्रस्तावित व्यक्तिले भने आफूहरुलाई दलिय भागबन्डा स्वीकार्य नहुने बताएका छन्। दलको भागबन्डा अनुसार पद नलिने बरु बाहिरै बसेर संस्थालाई सहयोग पुर्याउने निस्कर्षमा उनीहरु पुगेका छन्।

यस्तै महासचिव दिपक खड्कालाई बनाइने भएको छ । खड्काले काँग्रेसको कोटामा महासचिव हुने मौका पाएका हुन। त्यस्तै कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ प्रस्ताव गरिएको छ। श्रेष्ठ एमाले निकटतम हुन।

अर्को रोचक कुरा के भने अघिल्लो पटक कार्यसमिति हेन्डओभर नगरी बाहिरिएको रमेश श्रेष्ठ निकटको समूहलाई पनि फेरि संघमै फिर्ता ल्याइँदैछ। पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठलाई हिसाबकिताब नबुझाएपछि संघले निलम्बन गरेको थियो। उनै श्रेष्ठलाई अहिले प्रमुख संरक्षक बनाउन लागिएको छ। उनकै समूहका कृष्ण पौडेलले उपाध्यक्षको पद पाउने भएका छन्।

संघको नाममा उठेको रकम सकिएको र उनले च्यारिटिको नाममा दुबईको स्थानीय निकायमा दर्ता गराएको नेपाली एसोसिएसन (एनए) संस्था चलाउन फाइन्सियल क्राइसिस हुने भएपछि उनी फेरी मिल्न बाध्य भएको बताइन्छ।

काँग्रेस र गठबन्धनको रणनीति अनुसार नै यो खेल भएको हो।