५ सय ४५ नेपाली श्रमिक विदेशी जेलमा, २५ कोमामा

५ सय ४५ नेपाली श्रमिक विदेशी जेलमा, २५ कोमामा सां‌केतीक तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीका लागि गएका नेपाली श्रमिकमध्ये ५ सय ४५ खाडी तथा मलेसियाका जेलमा छन्। वैदेशिक रोजगार बोर्डले सम्बन्धित मुलुकका कुटनीतिक नियोगबाट प्राप्त सूचनाको आधारमा सो तथ्यांक निकालेको हो।

जेलमा रहेकामध्ये १९ जना महिला कामदार छन् भने ५२६ पुरुष कामदार रहेका छन्।

जेलमा रहेकामध्ये २५ जनाले मृत्युडण्को सजाय पाएका छन्। ७ जनाले आजिवन कारावास, २ जनाले २५ वर्ष सजाय, २ जनाले १५ वर्ष सजाय, ५ जनाले १५ वर्ष भन्दा कम, १९ जनाले १० वर्षभन्दा कम, १ जनाले ५ वर्ष भन्दा कम, ४४ जनाले एक वर्षसम्म, ७५ जनाले ३ महिनाभन्दा कम सजाय पाएका छन्। यस्तै २९३ जनालाई सजाय तोकिन बाँकी छ। १८ जनालाई भने जरिवाना मात्रै तोकिएको छ।

झुठा आरोपमा नेपालीहरु विभिन्न मुलुकका जेलमा पर्ने गरेको सामाजिक संगठन नेपाली एकता मञ्चका सचिव आरबि खड्काले बताए। उनका अनुसार कतिपय अवस्थामा रोजगारदाताले नै नेपाली नागरिकलाई जेलमा पुर्‍याउने गरेका छन्।

लामो समयसम्म काममा लगाएपछि पारिश्रमिक दिनुपर्छ भनेर विभिन्न चोरी, हत्या, डकैतीजस्ता आरोप लगाएर जेल पुर्‍याउने गरेको उनी बताउँछन्। माछा मार्ने क्रममा भारतको सीमा पार गरी पाकिस्तानको जेलमा पनि नेपाली रहेको उनले बताए।

तथ्यांकअनुसार मलेसियाको जेलमा सबैभन्दा बढी नेपाली कामदार छन्। मलेसियाको जेलमा २०५ नेपाली रहेको तथ्यांकले देखाउँछ। जसमध्ये २ जना महिला र २०३ जना पुरुष छन्। जेलमा परेकामध्ये १६ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ। १९० जनाको सजाय तोकिन बाँकी छ। अन्य कामदारको हकमा भने सजाय स्पष्ट नभएको बोर्डले उल्लेख गरेको छ।

त्यस्तै, कुवेतको जेलमा ५८ जना नेपाली श्रमिक छन्। जसमध्ये ३ महिला र ५५ पुरुष छन् । ३ जनाले मृत्युदण्डको सजाय पाएका छन्। ९ जनाले आजिवन कारावासको सजाय पाएका छन्। १ जनाले १५ वर्षको सजाय पाएका छन्। ३१ जनाले १५ वर्षभन्दा कम, १० वर्षभन्दा कम र ४ जनाको भने सजाय तोकिन बाँकी रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।

यूएईको जेलमा १ सय ८५ नेपाली कामदार छन्। १२ महिला र १ सय ७३ पुरुष छन् । जसमध्ये १ जनालाई मृत्युदण्डको सजाय तोकिएको छ । ४ जनालाई आजिवन कारावास, ४ जनालाई १५ वर्ष भन्दा कम, ५ जनालाई १० वर्षभन्दा कम, ४१ जनालाई १ वर्ष वा सो भन्दा कम, ७५ जनालाई ३ महिना भन्दाकम, ४८ जनालाई सजाय तोकीन बाँकी रहेको छ भने ७ लाई जरिवाना तोकिएको छ । २७ जना कामदारको भने सूचना अद्यावधिक नभएको बोर्डले जनाएको छ भने ५ जना जेलबाट छुटेका छन्।

ओमनको जेलमा ३ जना नेपाली कामदार छन्। २ जना महिला र एक जना पुरुष छन् । एक जनालाई १० वर्षभन्दा कम, एक जनालाई ५ वर्षभन्दा कम र १ जनालाई १ वर्षसम्म जेल सजाय तोकिएको छ ।

साउदी अरबमा जेद्धामा भने ३१ नेपाली कामदार जेलमा छन्। जेलमा रहेकामध्ये सबै पुरुष कामदार छन्। १ जनालाई १० वर्षभन्दा कम, २६ जनालाई सजाय तोकिन बाँकी छ भने ४ जनालाई जरिवाना तोकिएको छ । १६ कामदारको सजाय स्पष्ट नभएको बोर्डले जनाएको  ।

साउदी अरबको रियादको जेलमा भने २३ जना नेपाली कामदार जेलमा छन्। जसमध्ये सबै पुरुष हुन् । एक जनालाई १० वर्षभन्दा कम र ११ जनालाई सजाय तोकिन बाँकी रहेको छ । ६ जनालाई भने जरिवाना भएको छ ।

कतारको जेलमा भने ३५ जना नेपाली कामदार जेलमा छन्। ३ जनाले आजीवन जेल सजाय पाएका छन् । १ जनाले १५ वर्ष, १० जना १० वर्षभन्दा कम, २ जनालाई १ वर्ष सजाय तोकिएको छ भने १८ जनाको सजाय तोकिन बाँकी रहेको छ। १ जनालाई भने जरिवाना तोकिएको छ।

बहराइनको जेलमा ५ जना नेपाली कामदार छन्। २ जनाले २५ वर्षको सजाय पाएका छन्। १ जनाले १५ वर्षभन्दा कमको सजाय, १ जनाले १० वर्षभन्दा कम, १ जनाले ५ वर्षभन्दा कमको सजाय पाएका छन्।

त्यस्तै, भारतको विभिन्न प्रदेशमा करिव १५ हजार नेपाली जेलमा रहेको सामाजिक संगठन नेपाली एकता मञ्चका सचिव आरबी खड्काको दाबी छ।

२५ नेपाली अझै कोमामा

रोजगारीका क्रममा विभिन्न कारणले कोमामा पुगेका २५ नेपाली विदेशी हस्पिटलमा नै छन् । बोर्डको तथ्यांक अनुसार ३ महिला र २२ पुरुष छन्। जसमध्ये १८ जना कोमामा, २ जना अर्ध चेतन र ४ जनाको अवस्था भने सुधारउन्मुख रहेको छ।

कुवेतमा ४ जना नेपाली कोमामा छन्। यूएई, ओमन, साउदी अरब जेद्धा र जापानमा १/१ जना छन् । कतारमा ९, साउदी अरब रियाद र बहराइनमा ४/४ जना रहेको बोर्डको तथ्यांकमा उल्लेख छ ।