‘दुबई एक्स्पो’मा नयाँ किर्तिमान

‘दुबई एक्स्पो’मा नयाँ किर्तिमान फोटो सौजन्य : विक्रम लामा

आबुधाबी। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा चलेको विश्व व्यापार प्रदर्शनी (एक्स्पा दुबई –२०२०) मा अहिलेसम्मकै अधिकतम अन्तर्राष्ट्रिय सहभागिता भएको छ। ‘दुबई एक्स्पो’ले हालसम्मका सबै ‘एक्सपो’को कृतिमान तोड्न सफल भएको एक्स्पोका अधिकारीको दावी छ।

एक्स्पो २०२० को राजनीतिक मामिलाका वरिष्ठ उपाध्यक्ष महा अल गर्गावीले ६ महिनासम्म चलेको सो विश्व मेलामा करिव २० करोड व्यक्तिले भर्चुअल रुपमा भिजिट गरेको जानकारी दिएकी छन्। त्यस्तै, २०० भन्दाबढी देश र संगठन सहभागी भएको उनको भनाइ छ। ‘दुबई एक्स्पो’ गत वर्षको १ अक्टोबरमा सुरु भइ ३१ मार्चमा सकिएको हो।

‘यो विश्व एक्सपोको इतिहासमा संख्याको आधारमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सहभागीता हो । यो धेरै राम्रो उपलब्धि हो,’उनले मेगा इभेन्टको अन्तिम दिन बिहीबार स्थानीय सञ्चार माध्यमसँग भनिन्, ‘मलाई लाग्छ यसले वास्तवमा संयुक्त अरब इमिरेट्सको सक्षमतालाई प्रस्ट रुपमा देखाउँछ।’

‘कनेक्टिङ्ग माइन्ड्स, क्रिएटिङ द फ्युचर’ (मनहरु जोड्दै, भविष्य कोर्दै’ भन्ने नाराका साथ आयोजना भएको एक्स्पो २०२० दुबईले विश्वका नेता, संघसंस्था, व्यवसाय, विचारशील नेता, शिक्षाविद् र गैर–सरकारी संस्थालाई सामूहिक कार्यको खाँचो रहेको विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न एकै ठाउँमा ल्याएको बताइएको छ।

गार्गवीले दुबई एक्स्पोले यूएईलाई विश्वव्यापी शक्तिको रूपमा स्थापित गरेको र विश्वका राष्ट्रहरूसँग इमिरेट्सले कायम राख्दै आएको बलियो द्विपक्षीय सम्बन्धलाई देखाएको समेत बताएकी छिन्।

त्यसैगरी एक्स्पोले हालको विश्वव्यापी नक्सामा दुबई र संयुक्त अरब इमिरेट्सको स्थितिलाई पुन ः पुष्टि गरेको र यसले ५० वर्षको अवधिमा के सम्भव छ भन्ने कुराका साथै भएका परिवर्तनलाई देखाएको बताइएको छ।

यस्तै यूएईका साझेदार, १९२ राष्ट्रसँगको सम्बन्धले आगामी ५० वर्षको लागि सहकार्य स्थापित गरेको बताइएको छ।