एनआरएनएले गरेका कामको सम्मानमा सरकार चुक्यो : श्रममन्त्री श्रेष्ठ

एनआरएनएले गरेका कामको सम्मानमा सरकार चुक्यो : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले गर्न नसकेको काम एनआरएनएले गरेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाविधेशनमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कोभिड महामारीमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा गरेका हुन्।

तर, एनआरएनएले गरेका कामको सम्मान गर्न भने सरकार चुकेको उनको भनाइ छ। ‘सरकारले गर्न नसकेको उद्धार तपाईहरुले गर्नुभएको छ, तर सरकारले सम्मान दिन कन्जुस्याई गरेको छ’, उनले भने । युक्रेनबाट अलपत्र नेपाली उद्धार गरिएकोमा उनले प्रशंसा समेत व्यक्त गरे।

कार्यक्रममा उनले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीलाई सामाजिक सुरक्षा कोषमा समेटिने बताए। वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाको काम कसले गर्ने भन्ने तुरुन्तै टुंग्याइने बताए।

संयुक्त छलफल गरी यथासिघ्र टुंगोमा पुर्‍याउन पहल गरिने बताए । ‘यो बेला श्रमिक सामाजिक सुरक्षामा समेटिएनन् भने कहिल्यै समेटिदैनन्,’ उनले भने ।

ऐन, कानूनले समेत श्रमिकले दुःख पाइरहेको भन्दै श्रममन्त्री श्रेष्ठले श्रमिकमैत्री कानून निर्माणमा जोड दिए।

मन्त्रीस्तरीय निर्णय हुँदा २४ घण्टामा गर्न सकिने, क्याबिनेटमा लैजानुपरेमा केही समय लाग्ने र ऐन, नियम परिवर्तन गर्न संसदमा लैजान समय लाग्ने उनले बताए । ‘तर, श्रमिकको हितका लागि संसद नचलेको अवस्थामा अध्यादेश ल्याएर भएपनि ऐन ल्याउन सकिन्छ’ उनले भने ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दोस्रो दर्जाको रुपमा व्यवहार गरिएको भन्दै दुःख व्यक्त गरे। एयरपोर्टको झन्झट त्यसैकारणले हटाएको उनले बताए ।

विभिन्न देशसँग श्रमसम्झौता गर्दा तथा छलफलमा समेत सामाजिक सुरक्षा कार्यक्रमको विषयमा जोडदार आवाज उठाउने गरेको बताए । नेपाल, नेपाली र श्रमिकको पक्षमा सुधारका काम गरिने उनले बताए ।

श्रमिकलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाका कार्यक्रम दिने उनले बताए ।

श्रमिकले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको भन्ने तर, श्रम मन्त्रालयलाई वेवास्ता गर्ने गरेको उनले गुनासो गरे। सरकारले रोजगारीको ग्यारेन्टी गर्न सके वाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुने बताए।

एउटै हुँदा संस्था बलियो हुने भन्दै श्रममन्त्री श्रेष्ठले फुटको अनुभवले सिकाएको भन्दै एनआरएनए पनि नफुट्न सुझाव दिए।